जिम्न्यास्टिक खेलमा खेल सामग्रीको अभाव, खेलाडी र प्रशिक्षक दुवैलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८३, मंगलबार

जिम्न्यास्टिक खेलमा खेल सामग्रीको अभाव, खेलाडी र प्रशिक्षक दुवैलाई सास्ती

कविना बलामाी,काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित अभ्यास गरिरहेका जिम्न्यास्टिकका खेलाडीहरू यतिबेला आवश्यक खेल सामग्रीको अभाव झेल्न बाध्य छन् । पर्याप्त र गुणस्तरीय खेल सामग्री नहुँदा खेलाडीको अभ्यासदेखि प्रशिक्षणसम्म प्रभावित बनेको छ। खेलाडीलाई केवल प्रतियोगितामा सहभागी गराउने मात्र नभई उनीहरूले गुणस्तरीय सामग्री प्रयोग गरेर नियमित अभ्यास गर्न पाउने वातावरण निर्माण गर्नु पनि राज्यको जिम्मेवारी हो।

जिम्न्यास्टिक खेलाडीको क्षमता र मेहनतसँगै अभ्यासका लागि आवश्यक खेल सामग्रीको पनि उत्तिकै महत्त्व हुन्छ। तर नेपालमा जिम्न्यास्टिक खेलका लागि आवश्यक सामग्रीको पर्याप्त व्यवस्था नहुँदा खेलाडी र प्रशिक्षक दुवैले विभिन्न समस्या भोग्दै आएका छन् ।प्रशिक्षकहरूका अनुसार अभ्यासका लागि आवश्यक सामग्रीको अभाव लामो समयदेखि रहँदै आएको छ। भएका सामग्रीसमेत पुराना र जीर्ण अवस्थामा रहेका छन् । कतिपय सामग्री तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहे पनि नयाँ सामग्री उपलब्ध नहुँदा पुरानै सामग्री प्रयोग गरेर अभ्यास गर्नुपर्ने बाध्यता छ। आवश्यक सामग्री समयमै उपलब्ध नहुँदा खेलाडीहरूले चाहेजस्तो अभ्यास गर्न पाएका छैनन् । अझ सामग्रीको अवस्थाबारे सम्बन्धित निकायबाट पर्याप्त जानकारी नपाउँदा प्रशिक्षकहरू अन्योलमा समेत पर्ने गरेका छन् ।

जिम्न्यास्टिकमा प्रयोग हुने हाईबारको अवस्था पनि उस्तै छ । प्रशिक्षकहरूका अनुसार हाईबारमा निकै समस्या छ । वर्षौंदेखि प्रयोग हुँदै आएको पुरानै हाईबार अहिलेका नयाँ खेलाडीहरूले समेत प्रयोग गरिरहेका छन् । नयाँ खेलाडीलाई आधुनिक र व्यवस्थित सामग्रीमा अभ्यास गराउनुपर्ने समयमा पुरानैमा भर पर्नुपर्ने अवस्था छ ।रिङलगायतका आवश्यक सामग्रीसमेत व्यवस्थित नहुँदा खेलाडीको नियमित अभ्यासमा समस्या भइरहेको छ। अर्कोतर्फ, जिम्न्यास्टिक खेलको विकास र उपलब्धि केवल खेलाडीको मेहनतले मात्र सम्भव नहुने प्रशिक्षकहरू बताउँछन् । खेलाडी र प्रशिक्षकले भोगिरहेका यस्ता समस्या समयमै समाधान गर्न नसके जिम्न्यास्टिकको विकास र उपलब्धिमा समेत असर पर्न सक्ने देखिन्छ । कर्णाली प्रदेशको सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद हुने तयारी भइरहँदा पनि जिम्न्यास्टिकका लागि आवश्यक सामग्रीको अभाव कायमै छ । राष्ट्रिय स्तरको प्रतियोगिता नजिकिँदै गर्दा समेत खेल सामग्रीको व्यवस्थापन हुन नसक्नु खेल क्षेत्रका लागि दुःखद पक्ष हो ।

प्रशिक्षकहरूका अनुसार जिम्न्यास्टिकमा प्रयोग हुने राम्रा र गुणस्तरीय बारहरूको अभाव छ । कतिपय सामग्री बाङ्गिएका छन् भने कतिपय पुरानै प्रयोग भइरहेका छन् । नयाँ सामग्री खरिद तथा व्यवस्थापन हुन नसक्दा उपलब्ध पुराना सामग्रीकै भरमा प्रतियोगिताका लागि तयारी गर्नुपर्ने बाध्यता छ।खेलाडीले पर्याप्त अभ्यास गर्न नपाउँदा उनीहरूको क्षमता विकासमा बाधा पुग्ने मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीसमेत कमजोर बन्न सक्छ।नेपालमा खेलकुदको विकास र खेलाडी उत्पादनको कुरा गरिए पनि खेलाडीले अभ्यास गर्ने आधारभूत सामग्रीकै अभाव रहनु गम्भीर विषय हो । जिम्न्यास्टिक खेलको विकासका लागि राज्यले आवश्यक खेल सामग्रीको तत्काल व्यवस्थापन गर्नुका साथै पुराना सामग्रीको मर्मत र नयाँ सामग्री खरिदमा ध्यान दिन अपरिहार्य छ ।

Leave a Reply