संघीय संसद सचिवालय र दलहरुबीच छलफल सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसद सचिवालय र दलहरुबीच छलफल सम्पन्न

काठमाडौं, १६ फागुन । संघीय संसद सचिवालयले संसदको पहिलो अधिवेशन र सांसदहरुको सपथका विषयमा दलहरुसँग छलफल गरेको छ ।

बुधबार संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलसँग संघीय संसदको पहिलो अधिवेशन र सांसदहरुको सपथका विषयमा छलफल गरेको हो । आगामी सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन् ।

सोही विषयमा विषयमा दलहरुसँग छलफल गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । सचिवालयले आईतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका तय गरेको छ ।

सोही कार्यतालिकाका विषयमा पनि दलहरुलाई औपचारिक जानकारी गराइएको प्रवक्ता गौतमले जानकारी दिए । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई भोली बिहीबारसम्म निवेदन दिन पनि आह्वान गरेको छ ।

सपथ लिनु ३ दिन अघि नै मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई निवेदन पनि आग्रह गरिएको प्रवक्ता गौतमले स्पष्ट पारे । संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन् ।

संसद सचिवालयले संसदको अन्तरिम कार्यविधि तय गर्न आईतबार सर्वदलीय बैठक बोलाउने निर्णय पनि गरेको छ । प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन गराउने र सरकारले विश्वासको मत लिनेलगायतका कार्यतालिका तय गर्न पनि आईतबार सर्वदलीय बैठक बोलाउने निर्णय लिइएको प्रवक्ता गौतमले बताए ।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।

त्यसैगरी सरकार गठन भएको एक महिना भित्र विश्वासको मत पनि लिइसक्नु संवैधानिक व्यवस्था छ । आईतबार बोलाइएको सर्वदलीय बैठकमा सोही निर्वाचनको मिति समेत तय गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

दुई सदन रहेको संघीय संसदमा ३ सय ३४ जना सांसद रहेका छन् । पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठक बस्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);