संघीय संसद्का नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संघीय संसद्का नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने

काठमाडौं, १५ फागुन । संघीय संसदका नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने भएका छन् । राष्ट्रपति विद्या भण्डारीले फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन २० गते नवनिर्वाचित सदस्यहरुको सपथ लिने व्यवस्था गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार अधिवेशन अघि नै सपथ गर्नुपर्ने भएकाले फागुन २० गते नै सपथग्रहण कार्यक्रम आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

फागुन २० गते ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्बन्धित सभाकै हलमा राखिएको छ । दुवै सदनका जेष्ठ सदस्यले सम्बन्धित सभाका सदस्यहरुलाई सपथ गराउने छन् । दुवै सदनको जेष्ठ सदस्यलाई भने राष्ट्रपतिले सपथ गराउने प्रवक्ता गौतमले बताए ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी, नेपालका ८० वर्षीय महेन्द्र राय यादव जेष्ठ सदस्य भएका छन् भने राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य हुन् ।

संघीय संसद सचिवालयले संसदको पहिलो अधिवेशन सम्पन्न भएलगत्तै प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचनको कार्यसूचि तय गर्ने कार्यविधि पनि तयार पारेको छ ।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष चयन गरिसक्नु पर्ने भएकाले संघीय संसद सचिवालयले सोही अनुसारको कार्यविधि तय गरेको हो ।

कार्यविधिलाई अन्तिम रुप दिन बुधबार २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग परामर्श गर्न लागिएको पनि सचिवालयका प्रवक्ता गौतमले बताए । सरकार गठन भएको १ महिना भित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसको मिति तय गर्न पनि संसद सचिवालयले दलहरुसँग बुधबार परामर्श गर्न लागेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति पनि तय गरेर अघि बढने संसद सचिवालयको तयारी छ । प्रतिनिधिसभामा कूल २ सय ७५ र राष्ट्रिय सभामा ५९ जना सदस्य रहेका छन । फागुन २१ गते दुवै सदनको संयुक्त बैठक बस्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);