सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो

काठमाडौँ । 

सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । संक्रमणको दर तिब्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताउनुभएको हो । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मल्लले नागरिकको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद मल्लकाअनुसार सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप बढेको छ । पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्र ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा रोग देखिएकाले वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहले रोग नियन्त्रण र परीक्षणका लागि आवश्यक सहयोग माग गर्दै संघीय र प्रदेश सरकारलाई पत्राचार गरेको महिना दिन बितिसक्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन । परीक्षण किटको अभावमा समयमै रोग पहिचान गर्न नसक्दा बिरामीहरू थप जोखिममा परेका मल्लले बताउनु भयो ।

नेपालमा स्क्रब टाइफसको संक्रमण डरलाग्दो रूपमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा ९,२४३ रहेको संक्रमितको संख्या आव २०८१÷८२ मा २५,४९४ पुगेको छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ । स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहेको स्मरण गराउँदै सांसद मल्लले तत्काल औषधि, किट र स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण र जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार