काठमाडौँ ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनु भयो । वर्तमान सरकार जेन–जी आन्दोलनको जगमा बनेको भएपनि बीचमै आन्दोलन अपहरण गरेर मुलुकलाई विध्वंशको बाटोतर्फ लैजाने काम गर्नेहरुको सरकार बनेको आरोप लगाउनु भयो ।
उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाफदेही नबन्ने कुरा पहिलो पटक भएको जिकिर गर्नुभयो । उहाँले सरकार संविधानलाई छेडखानी गर्ने काममा लागेको बताउनु भयो । संविधान संशोधनका लागि प्रतिनिधि सभाको नियमावलीका माध्यमबाट संवैधानिक व्यवस्थालाई हेरफेर गर्ने प्रयत्नलाई भर्खरै सर्वोच्च अदालतले रोक लगाएर संविधानको रक्षा गर्ने काम गरेको जिकिर गर्नुभयो । महासचिव पोखरेलले संसदीय लोकतन्त्रमा अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्थाहरु हुँदा हुँदै कार्यकारी आदेशको प्रवन्धहरु संसदीय नियमावलीका माध्यमबाट राखेर संसदीय लोकतन्त्रलाई अधिनायकवादी बाटोतर्फ लैजाने उद्देश्यका साथ यो सरकार अगाडि बढी रहेको आरोप लगाउनु भयो ।




