काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । यस क्रममा पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । आज राति देशभरको मौसम साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रको हकमा कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।




