काठमाडौं । हाल नेपालभरको मौसममा साधारणतया बदली रही देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रतर्फ कोशी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहने पूर्वानुमान गरिएको छ । देशका पहाडी भू–भागका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने देखिन्छ । तराई भू–भागका हकमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




