स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुन्द्री सतहको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । जुन महिनाको अन्त्यमा यहाँको औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा बढी हो । स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुन्द्री पानी सबैभन्दा तातो हुने गर्दछ । तर यस वर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ । गत बुधवार स्पेनको भूमध्यसागरीय तटमा पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियसको बीचमा रेकर्ड गरिएको थियो । एजेन्सीको पूर्वानुमान अनुसार क्याटालोनिया र अन्डालुसिया बीचका अधिकांश पर्यटकीय तटहरूमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, बेलियारिक टापु समूहमा भने पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।
समुन्द्री तापक्रममा आएको यो अस्वाभाविक वृद्धि केवल स्पेनमा मात्र सीमित नभई विश्वव्यापी जलवायु परिवर्तनको सङ्केत भएको विज्ञहरूले बताएका छन् । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (ऋ३क्) र कोपर्निकस मरिन सर्भिसले जुलाईको शुरुमा जारी गरेको प्रतिवेदनअनुसार विश्वव्यापी समुन्द्री सतहको तापक्रमले सन् २०२३ र २०२४ का अघिल्ला कीर्तिमानहरूलाई समेत पार गरिसकेको छ ।
बार्सेलोनाका तटहरूमा पुग्ने पर्यटक तथा स्थानीय बासिन्दाहरूले पानीमा महशुस गरिएको यो वृद्धिप्रति चिन्ता व्यक्त गरेका छन् । स्थानीय बासिन्दाहरूकाअनुसार जलवायु परिवर्तनका कारण समुन्द्री तटमा बालुवाको मात्रा घट्दै गएको र अत्यधिक गर्मीले गर्दा दैनिक जनजीवन प्रभावित हुन थालेको छ ।
बार्सेलोनामा बसोबास गर्दै आएका विदेशी नागरिकहरूले पनि विगतका वर्षहरूको तुलनामा यस वर्षको गर्मी निकै तीव्र र कष्टकर रहेको बताएका छन् । विज्ञहरूले यसलाई पृथ्वी तातिँदै गएको गम्भीर सङ्केतका रूपमा व्याख्या गर्दै उचित कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमानः जुन महिनामै औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुग्यो
ताजा समाचार
महिला चालकलाई पर्यटन आतिथ्यता तालिम
८ मिनेट अघि
१० निर्माण व्यवसायी कालोसूचीमा
९ मिनेट अघि




