काठमाडौं ।
नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको नीति र कार्यन्वयनका बीच ठूलो खाडल देखिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । सांसद थेबेले भूमि आयोग, मल व्यवस्थापन र विपद् तयारी जस्ता दशकौँ पुराना समस्या समाधानमा विगतका सरकारहरूको पनि कमजोरी रहेको स्वीकार गर्नुभयो । तर हाल भइरहेका निर्णय र त्यसबाट सिर्जित परिणामको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने उहाँले जिकिर गर्नुभयो ।
सांसद थेबेले देशका २१ लाखभन्दा बढी नागरिक अझै पनि औपचारिक भूमि अधिकारबाट वञ्चित रहेको बताउनु भयो । सरकारले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा बुल्डोजर चलाएर १ हजार ५ सय परिवारलाई विस्थापित गरेको उहाँले बताउनु भयो । थेबेले २०८२ मङ्सिरमा १.११ प्रतिशत रहेको मुद्रास्फीति ६ महिनामै बढेर २०८३ जेठमा ५.४ प्रतिशत पुगेको जानकारी दिनुभयो । जनता महँगीको मारमा परिरहेका बेला सरकारले बिजुली, पेट्रोलियम पदार्थ र राइड शेयरिङ सेवामा कर वृद्धि गरेर थप भार थोपरेको उहाँको आरोप छ । उनले ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य कुन आधारमा तय गरिएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।




