नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो । केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गर्नुभयो । सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गर्नुभयो । उहाँले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबीच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो आयोजना बन्ने हो कि रोकिने हो? सरकारको आधिकारिक धारणा के हो? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् । ताप्लेजुङबाट काठमाडौं आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो । अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो। तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो ?’
सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाउनु भयो । वि.सं. २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उहाँको तर्क थियो । सांसद थेबेले अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण
ताजा समाचार
श्रमशक्ति पार्टीको प्रश्नः केन्द्रिय सरकार खोई ?
१ घन्टा अघि




