फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको सिरिया भ्रमणका क्रममा दुई देशबीच संयुक्त आर्थिक समिति गठन गरिनुका साथै विभिन्न क्षेत्रमा लगानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सन् २००९ यता फ्रान्सेली राष्ट्रपतिको यो पहिलो सिरिया भ्रमण हो । सिरियाली सरकारी समाचार एजेन्सी सानाकाअनुसार मंगलवार पिपुल्स प्यालेसमा आयोजित एक विशेष व्यावसायिक मञ्च (बिजनेस फोरम) का क्रममा यी सम्झौताहरू सार्वजनिक गरिएका हुन् । उक्त कार्यक्रममा राष्ट्रपति म्याक्रो र सिरियाली अन्तरिम नेता अहमद अल–शरासहित दुवै देशका सरकारी अधिकारी र व्यवसायीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा अन्तरिम नेता अल–शराले सिरियाको पुनर्निर्माण प्रक्रियामा सहभागी हुन फ्रान्सेली कम्पनीहरूलाई आह्वान गर्नुभयो । उहाँले बन्दरगाह, उड्डयन, ऊर्जा, पानी, स्वास्थ्य सेवा, डिजिटल पूर्वाधार र उत्पादन जस्ता मुख्य क्षेत्रहरूमा रणनीतिक साझेदारी स्थापना गर्न सिरिया इच्छुक रहेको बताउनु भयो । यस्तै, राष्ट्रपति म्याक्रोले सिरियामा स्थिरता र पुनर्निर्माणका प्रयासहरूलाई सुदृढ पार्न हालको समय एउटा अवसर भएको उल्लेख गर्नुभयो । उहाँले फ्रान्सेली लगानीकर्ता र कम्पनीहरूलाई सिरियामा लगानी बढाउन प्रोत्साहन गर्नुका साथै खाडी मुलुकहरूसँगको साझेदारीमा पुनर्निर्माण कार्यको समन्वय गर्न ’विस्तारित संयुक्त आर्थिक समिति’ स्थापना गर्ने घोषणा गर्नुभयो । राष्ट्रपति म्याक्रोले सिरियाको बैंकिङ क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्न फ्रान्स तयार रहेको र आर्थिक सुधारका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग आवश्यक समन्वय गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । यसअघि, राष्ट्रपति म्याक्रो र अन्तरिम नेता अल–शराबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय घटनाक्रमका विषयमा विस्तृत छलफल भएको थियो ।




