भारतको केरलमा भीषण पहिरोः दुई जनाको मृत्यु, सात बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

भारतको केरलमा भीषण पहिरोः दुई जनाको मृत्यु, सात बेपत्ता

भारतको दक्षिणी राज्य केरलको वायनाड जिल्लामा मंगलवार भारी वर्षाका कारण भीषण पहिरो जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । अधिकारीहरूकाअनुसार पहिरोमा परी घाइते भएका सात जनालाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । वायनाड जिल्लाको कल्लाडीस्थित मीनाक्षी पुल नजिकै उक्त पहिरो गएको हो । यो स्थान मलप्पुरम र वायनाड जिल्ला जोड्ने निर्माणाधीन ’अनक्कोमपोयिल–मेप्पाडी’ सुरुङ मार्ग आयोजना क्षेत्र नजिक पर्दछ । घटनालगत्तै स्थानीय बासिन्दा, प्रहरी र अग्नि नियन्त्रक टोली उद्धार कार्यमा जुटेका थिए। पछि राष्ट्रिय आपदा प्रतिक्रिया बलको टोली पनि घटनास्थल पुगेर उद्धार कार्यलाई तिब्रता दिएको थियो । अधिकारीहरूकाअनुसार उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा २६५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । अविरल वर्षाका कारण जमिन थिचिएर पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ । भारतीय मौसम विज्ञान विभागले वायनाड र कोझिकोड जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । यस्तै, छिमेकी जिल्लाहरू मलप्पुरम, कन्नूर र कासरगोडमा ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। मौसम विभागको परिभाषाअनुसार २४ घण्टामा २०४ मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई ‘रेड अलर्ट’ र ११५ देखि २०४ मिलिमिटरसम्म वर्षा हुनुलाई ‘ओरेन्ज अलर्ट’ मानिन्छ ।
भौगोलिक हिसावले वायनाड जिल्ला मनसुनको समयमा पहिरोको उच्च जोखिममा रहने गर्दछ । यसअघि सन् २०२४ मा वायनाडमा गएको विनासकारी पहिरोमा परी सरकारी तथ्याङ्कअनुसार २९८ जनाको ज्यान गएको थियो ।

Leave a Reply

ताजा समाचार