केन्याका उपराष्ट्रपति किथुरे किन्डिकीले नैरोबीमा निर्माणाधीन ‘तलन्ता स्पोट्र्स सिटी’ को निरीक्षण गर्दै यस परियोजनालाई देशको आधुनिक पूर्वाधार विकासमा एक ऐतिहासिक कोशेढुङ्गाको रूपमा चित्रण गर्नुभएको छ । निर्माण स्थलको भ्रमण गर्दै उपराष्ट्रपति किन्डिकीले अहोरात्र खटिएका कामदारहरूको प्रशंसा गर्नुभयो । उहाँले देशको सामाजिक–आर्थिक प्रगतिलाई सुदृढ बनाउन यस फ्ल्यागसिप परियोजनाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै उपराष्ट्रपति किन्डिकीले सन् १९८७ मा कासारानी अन्तर्राष्ट्रिय खेलकुद केन्द्र निर्माण भएयता केन्यामा लामो समयसम्म अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुन नसकेको स्मरण गर्नुभयो ।
‘चाइना रोड एण्ड ब्रिज कर्पोरेसन’ द्वारा निर्माणाधीन यो रङ्गशाला ६० हजार दर्शक क्षमताको रहनेछ । फिफाको मापदण्डअनुसार निर्माण भइरहेको यस आधुनिक रङ्गशाला सन् २०२७ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्सको उद्घाटन र समापन समारोहका साथै मुख्य प्रतिष्पर्धाका लागि प्रमुख स्थलका रूपमा प्रयोग गरिनेछ ।





