मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेण्टहरूको आकस्मिक अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री फेला परेका व्यवसायीहरूलाई कारबाही गरिएको हो । गत १५ गतेदेखि शुरु गरिएको विशेष अनुगमन अभियानका क्रममा बर्दिबास र ढल्केवर क्षेत्रका दर्जनौँ होटलहरूमा छापा मारिएको मन्त्री महतोले बताउनु भयो । अनुगमनका क्रममा अधिकांश होटलहरूमा चरम लापरबाही, अस्वच्छ वातावरण र गुणस्तरहीन खाद्य सामग्री प्रयोग भइरहेको पाइएको उहाँले बताउनु भयो । बर्दिबासस्थित बौवा होटलबाट अनुगमन शुरु गरिएकोमा त्यहाँ करिव २० देखि २५ किलो सडेगलेको माछा–मासु नष्ट गरिएको उहाँले बताउनु भयो । साथै, स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने र क्यान्सरजन्य रोग निम्त्याउन सक्ने रातो भइसकेको पुनः प्रयोग गरिएको खाने तेल फेला परेपछि उक्त होटललाई पहिलो पटक चेतावनीस्वरूप २५ हजार रुपैयाँ जरिवाना गरिएको पनि उहाँले बताउनु भयो ।
अनुगमन टोलीले बर्दिबासकै ‘बाबाको ढावा’ मा छापा मार्दा त्यहाँको अवस्था अत्यन्तै फोहोर र खानेकुराहरू गुणस्तरहीन पाइएकाले ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनकै क्रममा प्रख्यात मानिने ‘बाजेको सेकुवा’ मा सबैभन्दा बढी बेथिति र अस्वच्छता भेटिएको मन्त्री महतोले बताउनु भयो । उक्त होटलमा गुणस्तरहीन र अस्वच्छ खाना खुवाउने गरिएको पाइएकाले ७५ हजार रुपैयाँ जरिवाना गरिएको मन्त्रीले जानकारी दिनुभयो । अन्य होटलहरूमध्ये बरगज हाउसलाई ३५ हजार, राजु होटललाई ४० हजार र द रोयल स्टारलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । राजु होटलको अनुगमनका क्रममा ग्राहकहरूले खाँदै गरेको अवस्थामा अस्वच्छ वातावरण र फोहोर फेला परेपछि ग्राहकहरू खान छोडेर हिँडेका थिए । यस्तै, गौतम होटल, पुकार होटल, थापा होटल, कमल होटल र प्लाजा लगायतका होटलहरूमा पनि अनुगमन गरी म्याद नाघेका पेय पदार्थ तथा खाद्य सामग्रीहरू नष्ट गरिएको छ ।
आफू केवल मन्त्रीको भुमिकामा मात्र नभई एक जिम्मेवार नागरिकको हैसियतले जनताको स्वास्थ्य सुरक्षाका लागि सडकमा ओर्लिएको उहाँले बताउनु भयो । मधेस प्रदेशका आठै जिल्लामा यो अनुगमन अभियानलाई निरन्तरता दिइने र गुणस्तरहीन खाना खुवाउने जोसुकैलाई पनि कानूनको दायरामा ल्याइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । विगत ९ वर्षदेखिको बेथिति सुधार गर्न र जनताको चाहनाअनुसार स्वच्छ प्रशासन र स्वास्थ्यको प्रत्याभूति दिलाउन आफू कटिवद्ध रहेको उहाँको भनाइ छ ।




