साख जोगाउलान् त विश्वप्रकाशले ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापा,१० फागुन । कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो।

कतिपय स्थानमा कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाका कारण पराजय भोगेको आरोप लागेपछि उनी जिल्लाका गतिविधिमा खासै सरिक छैनन् । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका सिटौला आफैं पराजित भए। कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्लाकै नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएका छन् । प्रवक्ता बनेपछि शर्मा संगठन सुदृढ गर्न भनेर जिल्ला दौडाहामा छन्।

प्रवक्ता बनेर पहिलोपटक गृहजिल्ला आएका शर्माले बिर्तामोडमै कांग्रेस पूर्वमहामन्त्री सिटौलाको आलोचना गरे। बदलिन नसक्नेलाई कांग्रेसभित्र ठाउँ नभएको भनाइ शर्माको थियो । ‘कांग्रेसलाई सुधार गर्नका लागि हामीले मुलुकभर अभियान सञ्चालन गर्छौं’, उनले भने, ‘जो सुधार हुन सक्दैन, त्यसले पार्टीबाट बिदा लिनुपर्छ ।’ शर्माले यसपटक चुनाव जित्न नसक्नुको आरोप पनि सिटौलामाथि नै लगाउने गरेका छन्।

स्थानीय तहको चुनावमा गृहनगर मेचीमा कांग्रेस झन्डा फहराएका शर्मा प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित भए । एक साताअघि गौरीगन्जमा भएको सभामा शर्माले पार्टीलाई संस्थागत ढंगमा चलाइएमात्रै अब ५ वर्षभित्र साख उठ्न सक्ने बताएका थिए। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले भनेका थिए, ‘कांग्रेसको अबको परिपाटी परिवर्तन हुन जरुरी छ, त्यसका लागि कार्यकर्ताले समेत नेतृत्वलाई सुझाव दिनुपर्छ।’

कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डी भण्डारीले पार्टी नेतृत्वका कारण निर्वाचनमा अप्रत्यासित नतिजा आएको ठान्छन् । ‘संगठन परिचालन सक्रिय ढंगमा हुन नसकेका कारण अप्रत्यासित नतिजा आएको हो’, उनले भने, ‘कार्यकर्तालाई परिचालन गरी संगठन गतिशील बनाउनुपर्छ ।’ उनी आफैं पनि स्थानीय निर्वाचनमा दमकको मेयरमा पराजित भएका थिए । ‘पार्टी प्रवक्ता भएको हिसाबले पनि संगठन ब्युँझाउन शर्माको भूमिका महत्त्वपूर्ण हुन्छ’, भण्डारीले भने, पार्टीका युवाको विश्वास जितेका कारण पनि उनीप्रति आकर्षण छ।

भण्डारीको भनाइमा कांग्रेसले अजेन्डा बिकाउन नसक्दा यसपटकको चुनावमा अप्रत्याशित पराजय भोग्यो । ‘त्यसलाई कमजोरीका रुपमा स्वीकार गरेर नयाँ कार्यक्रम तय गर्नुपर्छ’, उनले भने। स्थानीय तहमा सोचेभन्दा बढी जित हासिल गरेको कांग्रेसले प्रदेश र प्रतिनिधिसभामा हार व्यहोरेपछि कार्यकर्ता पनि खासै सक्रिय छैनन् । कांग्रेस निकट महिला संघकी क्षेत्रीय सचिव कल्पना थापा चुनावमा अप्रत्याशित हार बेहोरेपछि कार्यकर्तामा निराशा छाएको बताउँछिन् । ‘नेताहरुले कार्यकर्ता लक्षित कार्यक्रम ल्याउन सकेनन्’, उनले भनिन्, ‘अब गतिशील कांग्रेस बनाउन शर्माको भूमिका देखिन्छ ।’

विश्वप्रकाशको उदय
प्रजातन्त्र पुनस्र्थापनापछि कांग्रेसले महत्त्व दिएको ठाउँ हो झापा । त्यसैले २०४९ को महाधिवेशनसमेत झापाको कलबलगुडीमा भयो । त्यसबेला सिके प्रसाईलगायतले हाँकेको कांग्रेस बिरासत चक्रप्रसाद बाँस्तोला हुँदै अहिले विश्वप्रकाश शर्मासम्म आइपुगेको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनेपछि उनी केही समय काठमाडौँमा बसे । दोस्रो जनआन्दोलनताका उनी राजधानीमै थिए । त्यसपछि उनी जिल्लामा फर्केर जिल्लाको राजनीतिमा क्रियाशील भए । उनले कांग्रेस जिल्ला सभापतिमा उद्धव थापासँग प्रतिस्पर्धा गरेका थिए । तर पराजित भए । पार्टीको १३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए।

जिल्लास्तरका एक कांग्रेस कार्यकर्ताका अनुसार लगातार कृष्ण सिटौलाको सेपमा परेका शर्मा यसपटक त्यो बदला लिने दाउमा छन् । ‘जिल्लामा एकलौटी प्रभाव जमाएका सिटौला निर्वाचनमा पराजय भएपछि जिल्ला टेकेका छैनन्’, उनले भने, ‘तर चुनावमा हारे पनि शर्मा कार्यकर्ताको मनोभावना बुझ्न अघि बढेका छन्।’

क्षेत्रीय सभापति भण्डारी शर्माको व्यक्तित्वका कारण कार्यकर्तामा जाँगर भरिने बताउँछन् । ‘शर्माको व्यक्तित्व र आकर्षक बोलीका कारण कार्यकर्तामा जाँगर पलाएको छ’, उनले भने, ‘तर पार्टीभित्रको सन्तुलन मिलाउन उनका लागि अर्को चुनौती छ ।’ आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);