कांग्रेसभित्र हारले निम्त्याएको किचलो अझै मत्थर भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसभित्र हारले निम्त्याएको किचलो अझै मत्थर भएन

congress

काठमाडाैं, ८ वैशाख । आफैंले गराएको निर्वाचनमा पराजय बेहोरेको नेपाली कांग्रेसभित्र हारले निम्त्याएको किचलो अझै मत्थर भएको छैन । बरु यो अझै चुलिने देखिएको छ । पार्टीभित्र बैठक पातलिएपछि सार्वजनिक मञ्चबाटै नेताहरु आरोप–प्रत्यारोप गर्न थालेका छन् ।

निर्वाचनको चार महिनापछि समिक्षा थालेको कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा विवाद उत्कर्षमा देखिएको छ । झन सभापति शेरबहादुर देउवा निकटका नेता डाक्टर प्रकाशशरण महतले सभापतिविरुद्ध बोल्नेहरुलाई ठीक पारिदिने अभिव्यक्ति दिएको भन्ने समाचारपछि त्यो विवाद अझ उत्कर्षमा पुगेको हो ।

शनिबार काठमाडौंका कार्यकर्ता भेलामा नेताहरुले सभापति देउवालाई मञ्चबाटै चुनौती दिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूले तात्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको समेत विरोध गरेर पार्टीमा बसेको स्मरण गर्दै सभापति देउवाले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको आरोप लगाए ।

कांग्रेसका युवा नेता गगन थापाले निर्वाचनमा हारका धेरै कारण भएपनि नेतृत्व त्यसको जिम्मा लिन तयार नदेखिएको टिप्पणी गरे । सभापति देउवाकै अगाडि बसेर थापाले नेतृत्वले चौकिदार फलानो थियो भनेर पन्छन नमिल्ने भन्दै सभापति देउवाले पार्टीले मेरो नेतृत्वमा हारेको हो नभन्दासम्म समस्याको समाधान नहुने बताए ।

आफूप्रति लक्षित आरोप र व्यंग्य सुनेपछि सभापति शेरबहादुर देउवाले फरक–फरक पार्टीहरु एक भएका वेला कांग्रेस एउटै पार्टी दुईवटाजस्तो हुनु नैं समस्या भएको गुनासो गरे । उनले पार्टीले निर्वाचनमा हार्नुको मुख्य कारण नै कम्युनिष्ट एकता भएको बताए । अहिले आएर त्यो भन्दा चिन्ताको विषय सरकारको अधिनायकवादी कार्यशैली भएको उनको भनाइ थियो ।

आरोप प्रत्यारोप भएकै मञ्चमा रहेका महामन्त्री डा शशांक कोइरालाले पार्टीले निर्वाचन हार्नु सामान्य भएपनि पार्टी भित्र गुटको राजनीति असामान्य रुपमा देखिएको भन्दै चिन्ता व्यक्त गरे । घुमाउरो भाषामा उनले अब पार्टी सुधारका लागि आफू नेतृत्व लिन तयार रहेको बताए । त्यसैले पार्टीलाई एक नम्बर बनाउने आफ्नो प्रयासमा साथ दिन उनले सबैलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);