रूपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) ले फिफा विश्वकप फुटबललाई लक्षित गर्दै विशेष प्रदर्शनी तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फुटबल प्रेमीहरूका लागि सामूहिक रूपमा खेल हेर्ने व्यवस्था मिलाएको हो । यस कार्यक्रमका लागि होटलले नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी अञ्जन विष्टसँग सहकार्य गरेको छ । होटलका अध्यक्ष पारस अधिकारीकाअनुसार व्यापारिक प्रयोजनभन्दा माथि उठेर खेलकुदको माध्यमबाट समाजलाई जोड्ने र स्थानीय स्तरमा फुटबलको माहोल सिर्जना गर्ने उद्देश्यले यो पहल गरिएको हो । भैरहवामा ‘स्पोट्र्स बार’ को अभाव महशुस गर्दै होटलले क्रिकेटका गतिविधिमार्फत खेलकुद बारको अवधारणा शुरु गरेको थियो। सोही पूर्वाधारलाई प्रयोग गर्दै यसपटक फुटबल समर्थकहरूका लागि सामूहिक जमघट र मनोरञ्जनको थलो बनाउने होटलको योजना छ । मध्यरातमा हुने खेलहरूका बाबजुद पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहने र खेलप्रेमीहरूमा बेग्लै उत्साह पैदा हुने विश्वास अध्यक्ष अधिकारीले व्यक्त गर्नुभयो । राष्ट्रिय खेलाडी अञ्जन विष्टको उपस्थितिले दर्शकहरूलाई थप गौरवान्वित र उत्साहित बनाउने होटलले जनाएको छ । एक्लै बसेर फुटबल हेर्नुभन्दा साथीभाइको जमघटमा सामूहिक रूपमा खेल हेर्नुको मजा बेग्लै हुने भन्दै होटलले भैरहवा र आसपासका सम्पूर्ण खेलप्रेमीहरूलाई होटलमा आएर विश्वकपको आनन्द लिन आह्वान गरेको छ ।
अध्यक्ष अधिकारीले भन्नुभयो, ‘एउटा पब्लिक लिमिटेड कम्पनीका रूपमा समाजप्रति हाम्रो पनि केही उत्तरदायित्व छ । विगतमा हामीले क्रिकेटका विभिन्न प्रतियोगिताहरू आयोजना गरिसकेका छौँ । यसपटक विश्वकपको अवसरमा राष्ट्रिय गहनाका रूपमा रहनुभएका अञ्जन विष्टसँगको सहकार्यमा फुटबलप्रेमीहरूलाई उत्कृष्ट वातावरण प्रदान गर्न लागेका हौँ ।’
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले नेपाली फुटबलको दिगो विकासका लागि नियमित लिग र तल्लो तहको फुटबल संरचना (ग्रासरुट) बलियो हुनुपर्नेमा जोड दिनुभयो । हाल देशभर फुटबलको माहोल उत्साहजनक रहेको उल्लेख गर्दै विष्टले रोकिएर बसेको घरेलु लिगलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनु भयो । आगामी दिनमा नेपाली फुटबलको अवस्थामा सुधार आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, उदीयमान खेलाडीहरूलाई सुझाव दिँदै विष्टले सफल फुटबलर बन्नका लागि अनुशासन, कडा परिश्रम र समर्पण अनिवार्य रहेको बताउनु भयो । खेलमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले हारबाट विचलित नभई थप बलियो भएर मैदानमा फर्कन खेलाडीहरूलाई आग्रह गर्नुभयो । पराजयलाई अन्त्य नभई आफूलाई सुधार्ने अवसरका रूपमा लिनुपर्ने उहाँको सुझाव छ ।




