काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले २ हजार ४२१ जना सडक मानवलाई उद्धार गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौं शहर बनाउने अभियान अन्तर्गत उनीहरुको उद्धार गरिएको जानकारी गराइएको हो । मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनु भयो । प्रवक्ता मानन्धरकाअनुसार ती मध्ये १ हजार ५ सय ७१ जुना पुरुष र ८५० जना महिला रहेका छन् । त्यसैगरी उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।
हाल आश्रय लिएर भने ३४४ जना रहेको पनि प्रवक्ता मानन्धरले जानकारी दिनु भयो । त्यस्तै १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ । प्रवक्ता मानन्धरले उद्धार गरिएकाहरुमध्ये केही भने आय आर्जनका लागि माग्ने कामलाई पेशा बनाएर पनि सडकमा आउने गरेको पाइएको बताउनु भयो । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७६ साल मंसीर २९ गते सडक मानवमुक्त काठमाडौं सहर बनाउने अभियान अघि बढाएको थियो । सोही अभियानलाई निरन्तर रुपमा अघि बढाइएको पनि प्रवक्ता मानन्धरले बताउनु भयो ।




