असहायसँग नगर प्रमुखको जन्मदिन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

असहायसँग नगर प्रमुखको जन्मदिन

काभ्रे । भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले असहाय व्यक्तिहरुसँग आफ्नो जन्मदिन मनाएका छन् ।

बिहीबार ६४ बर्ष पुरा गरी ६५ बर्षमा प्रवेश गरेका नगर प्रमुख तिमल्सिनाले धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घरमा आश्रित असहाय व्यक्तिहरुलाई खाना खुवाउँदै जन्मदिन मनाएका हुन् । नगर प्रमुख तिमल्सिनाले विगतमा पनि सामाजिक कार्य गर्दै जन्मदिन मनाउँदै आएका थिए ।

यस बर्ष अझ पृथकरुपमा सडकबाट उद्धार गरिएका व्यक्तिहरुसँग जन्मदिन मनाएका तिमल्सिनाले उनीहरुको आजको लागि खाना खाजा लगायतको व्यवस्थापन आफ्नो तर्फबाट गरेका थिए ।

सेवा घरमा आश्रित व्यक्तिहरुसँग जन्मदिन मनाउने क्रममा नगर प्रमुख तिमल्सिनाले आफू पदमा रहँदा पनि र नरहँदा पनि दुखी र असहायहरुको साथमा रहने बताए ।

आगामी दिनमा पनि आफ्नो तर्फबाट सेवा घरमा आश्रित व्यक्तिहरुका लागि साथ र सहयोग निरन्तर रहने तिमल्सिनाले बताए । ‘मेरो बाँकी जिन्दगी समाज र मुलुकका लागि समर्पित गर्नेछु’ तिमल्सिनाले भने, ‘सडकमा अलपत्र परेका व्यक्तिहरुको उद्धार र उनीहरुको सेवामा मानव कल्याण समाजले गरिरहेको कार्यमा सधैं हातेमालो हुनेछ।’ नमोबुद्ध नगरपालिकाले सडक मानवमुक्त नगरको अभियानसहित सेवा घरको सहकार्यमा सडकमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गर्दै आएको उनले बताए ।

धर्मपत्नी सरस्वती शर्मा र नमोबुद्ध नगरपालिकाका कर्मचारीहरुसहित सेवा घर पुगेका तिमल्सिनाले नगरपालिकाको तर्फबाट पनि सेवा घरलाई आवश्यक सहयोग जारी राख्ने बताए । नमोबुद्ध नगरपालिकाले गत मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवमुक्त नगरको अभियान सञ्चालन गरिरहेको छ ।

नगर प्रमुख तिमल्सिनाले आफ्ना पिताको निधनको ४५ औं दिनको पुण्यतिथिमा पनि समाजलाई खाद्यान्न सहयोग गरेका थिए भने समाजमा आश्रित एकजना बालिकाको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । उनकै अभिभवकत्वमा ती बालिकाको केही महिनाअघि अन्नप्रासन गरिएको थियो ।

सो अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगर प्रमुख तिमल्सिनाले आफ्नो जन्मदिन सेवा घरमा आश्रित व्यक्तिहरुसँग मनाएर उदाहरणीय कार्य गरेको भन्दै यस्ता सामाजिक कार्यको सबैले अनुशरण गर्नुपर्ने बताए । असहाय व्यक्तिहरुको सेवा नै सबैभन्दा ठूलो धर्म र पुण्यको काम भएको पौडेलले बताए ।

यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतिराम तिमल्सिनाले मानव कल्याण समाजले चुनौतीपूर्णरुपमा सडकमा अलपत्र व्यक्तिहरुको उद्धार गरी सेवा गर्दै आएकोमा प्रशंसा गरे । मानिस मानसिकरुपमा बिचलित भएसँगै सडकमा पुग्ने गरेको भन्दै त्यसको कर्तव्यवोध गर्दै संस्थाले थालेको अभियान निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘जसको कोही छैन, उसलाई उद्धार गरी सेवा गर्ने तथा घरमा पुनस्र्थापना गर्ने कार्य सह्रानीय छ’ तिमल्सिनाले भने, ‘यस्तो कार्यमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र नमोबुद्ध नगरपालिकाले दिएको साथ अुमल्य रहेको छ।’

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले कुनैपनि विदेशी दाताबिना नेपालीका लागि नेपालीकै सहयोगले सेवा घर सञ्चालनमा आएको बताइन् । धुलिखेलमा रहेको सेवा घरमा ४३ जना आश्रित रहेको बताउँदै उनले नमोबुद्ध नगरपालिका र नगर प्रमुखले सेवा घरको अभिभावकत्व ग्रहण गरेर सडक मानवमुक्त मुलुक बनाउने अभियानमा हौसला थपेको बताइन् । धुलिखेलसहित मुलुकका विभिन्न स्थानमा रहेको सेवा घरमा हाल २५० जना रहेको तथा १ सय ९५ जनाको परिवारसँग पुनर्मिलन गराइसकिएको उनले बताइन् ।

मन्दिरलाई सहयोग
नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा पनौती नगरपालिका ५ बाँसघारीमा निर्माणाधीन मुक्तिनाथ मन्दिरका लागि आर्थिक सहयोगसमेत गरेका छन् । उनले मन्दिर निर्माणका लागि आफ्नो सेवा सुविधावापत प्राप्त रकमबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । तिमल्सिनाले मन्दिर निर्माण समितिका अध्यक्ष गोपालवहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

उनले धर्म र संस्कृतिको रक्षाका लागि मन्दिर निर्माण हुनु खुशीको कुरा भएको बताउँदै त्यसमा आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउँदा हर्षित भएको बताए । सो अवसरमा मन्दिर निर्माण समितिका अध्यक्ष थापाले नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाबाट प्राप्त सहयोगले मन्दिर निर्माणमा ठूलो मद्दत पुग्ने बताएका थिए । आजै नगर प्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनको अवसरमा मेथिनकोट अस्पताल तथा जनक क्याम्पसको आइसोलेसनमा उपचार गराइरहेका बिरामीलाई फलफूलसमेत वितरण गरेका थिए ।

सामाजिक क्रियाकलापमा सक्रिय नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकाका जेहेन्दार एवं विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको शिक्षाका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);