साफ च्याम्पियनसिप हाम्रा लागि विश्वकप जस्तै हो, लक्ष्य उपाधि नै होः प्रशिक्षक न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

साफ च्याम्पियनसिप हाम्रा लागि विश्वकप जस्तै हो, लक्ष्य उपाधि नै होः प्रशिक्षक न्यौपाने

काठमाडौं ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले आसन्न साफ महिला च्याम्पियनसिपलाई नेपाली फुटबलको ‘विश्वकप’ सरह मान्दै टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताउनुभएको छ । मैत्रीपूर्ण खेल र मुख्य प्रतियोगिताको फरकलाई स्पष्ट पार्दै प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेलहरू नयाँ खेलाडीको परीक्षण र रणनीति निर्माणका लागि प्रयोग गरिने भएपनि साफ च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा नतिजा नै मुख्य प्राथमिकता हुने उल्लेख गर्नुभयो । प्रशिक्षणका क्रममा खेलाडीहरूलाई मानसिक, शारीरिक र भावनात्मक रूपमा सबल बनाउन केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षक न्यौपानेले टोलीको सफलताका लागि आपसी एकता निकै महत्त्वपूर्ण हुने भन्दै खेलाडीहरूलाई एकढिक्का बनाएर लैजानु आफ्नो मुख्य जिम्मेवारी रहेको बताउनु भयो । टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता राना जस्ता महत्वपूर्ण खेलाडीको अनुपस्थितिलाई उहाँले चुनौतीका रूपमा स्वीकार गर्नुभयो । उनीहरूलाई टोलीको ‘स्पाइनल कर्ड’ को संज्ञा दिँदै न्यौपानेले अन्य खेलाडीहरूका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर भएको बताउनु भयो । अन्तरनिकाय विवाद र खेल वातावरणका बारेमा बोल्दै प्रशिक्षक न्यौपानेले संस्था र सरकारबीचको आन्तरिक लडाइँको असर मैदानमा देखिन नहुने बताउनु भयो । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठूलो सपना बोकेर मैदानमा उत्रने भएकाले उनीहरूका लागि शुद्ध र खेलमैत्री वातावरण निर्माण गरिदिन उनले सरकार र संवद्ध निकायसँग आग्रह गर्नुभयो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको सन्दर्भमा प्रशिक्षक न्यौपानेले आफ्नो मुख्य जिम्मेवारी र लक्ष्य नै उक्त ट्रफी नेपाल भित्र्याउनु रहेको स्पष्ट पार्नुभयो । अहिले टोली सोही लक्ष्यप्राप्तिका लागि कडा प्रशिक्षणमा व्यस्त रहेको उहाँले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार