वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

काठमाडौं । कोरोना भाइरसका कारण नेपाली खेलकुद चल्न सक्ने अवस्थामा थिएन । लथालिंग थियो । कुनै संघ आफ्ना कार्यक्रम अगाडि बढाउन सक्ने अवस्थामा थिएनन् । तर यस्तो अवस्थामा नेपाली खेलकुदको सबैभन्दा ठंलो र चलायमान रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने प्रशिक्षक विभागमा रहने गरी कुवेत नागरिक अब्दुल्लाह अल्मुताइरीलाई नेपाल झिकायो ।

अब्दुल्लाहलाई एन्फाका तत्कालीन प्रवक्ता किरण राईले सातदोबाटोस्थित मुख्यालयमा २२ चैत २०७७ मा मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरे । यो त भयो वर्ष २०७७ को  कुरा । अहिले हामी वर्ष २०७८ को अन्त्यमा छौं । याे वर्ष नेपाली फुटबलमा देखिएका, भएका समसामयिक विषयलाई प्रस्तुत गर्नेछौं ।

कोरोनाका कारण ०७८ वर्षको सुरुआतमा सरकारले अत्यावश्यकबाहेक अन्य कार्य गर्न नदिने निर्णय गर्‍याे । यस्तो अवस्थामा पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) भने जारी रह्यो । सात टोली सहभागी रहेको एनएसएलमा वैशाख र जेठमा आयोजना भएको थियो ।

एसएसएस समाप्तिसँगै प्रशिक्षक अब्दुल्लाहले कतार फिफा विश्वकप-२०२२ छनोटको दोस्रो चरणका लागि ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा स्थान दिए । जसमा त्यसअघिका नियमित र नयाँ १३ खेलाडी टिम बाहिर रहे । ६ नयाँ खेलाडीलाई पहिलो पटकअवसरसमेत दिए । यसपछि उनले आफ्नो पहिलो भ्रमणका रूपमा इराकतर्फ लागे । जहाँ टोलीले सुधारिएको खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई ६-२ को नतिजा सुम्पियो ।

यो त भयो वर्षको सुरुआत र नेपालले अब्दुल्लाहको प्रशिक्षणमा खेलेको पहिलो प्रतियोगिता । पहिलो खेलसँगै प्रशिक्षक अब्दुल्लाहको चर्चा चुलिँदै गयो । यसपछि नेपाली टिमले कुवेतमा दोस्रो चरणका खेल खेल्यो । २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्याे । २४ र २८ जेठमा नेपाल क्रमशः जोर्डन र अष्ट्रेलियासँग समान ३-० अन्तरले पराजित भयो ।

यी भए मैदानभित्रका कुरा । मैदान बाहिरसमेत प्रशिक्षक अब्दुल्लाह सधै चर्चाको शिखरमा रहे । १० साउनमा उनले अप्रत्यासित निर्णय गरे । एन्फाको बैठक चलिरहँदा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आफूलाई बरम्बार तनाव दिएको र आफू मुख्य प्रशिक्षक पदबाट राजीनामा दिन एन्फा गइरहेको फेसबुकमा ‘स्टाटस’ राखे । यसरी यो विवाद एक्कासि समाजिक सञ्जालमा त भरियो भरियो । एन्फा बैठकसमेत प्रभावित भयो ।

यसपटक आमसमर्थकको गाली पाएका वरिष्ठ उपाध्यक्षले फेसबुक बन्द गर्नसम्म पुगे । यसरी यो घटनाले आमसर्वसाधारणलाई तताइरहेको बेला प्रशिक्षक अब्दुल्लाहले भने एन्फामा कुनै राजीनामा पत्र बुझाएका थिएनन् ।

आगामी १५ जेठ हुँदै ६ असारलाई सरेको एन्फा निर्वाचनलाई प्रभावित पार्दै आफूविरुद्ध षडयन्त्र रचिएको पंकजले तत्काल पत्रकार सम्मेलन गर्दै बताएका थिए । जुन विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासमेत मुछिए । जसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति नै बनाएर छानबिन गर्ने निर्णय गर्‍याे । तर त्यसले कुनै आधार पाउन सकेन ।

बेलाबेला समाजिक सञ्जालमा आफ्ना समर्थकलाई मख्ख बनाउन विभिन्न उपाय अपनाउने अब्दुल्लाह सधै चर्चाको विषय बनिरहे । यो चर्चा र यस्ता घटना माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा समेत उनले देखाए ।

नेपाल टिम पहिलो पटक साफ इतिहासमा फाइनल पुग्दा उनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरे । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल चिरपरिचित भारतसँग ३-० अन्तरले पराजित भयो । यसपछि उनले आफू नेपाल नफर्कने र घर जाने निर्णय लिए । तर एन्फासँग उनले पुन: कर्मथलो फर्कने र अर्काे एक वर्षका लागि सम्झौता गर्ने निर्णय गरे । सोहीअनुसार नेपाल फर्किए र दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एक वर्ष नेपालमै बिताउने निर्णय लिए ।

प्रशिक्षक अब्दुल्लाह नेपालमा कुनै पनि समय गुमनाम रहेनन् । नेपाल आएपछि नै सामाजिक सञ्जाल खोलेर चलेका र चर्चामा आएका खेलकुद पत्रकारलाई साथी बनाएका उनी हाल करिब एक लाख हाराहारी मानिसहरूले पछ्याउने (फलो गरिएको) मा रहेका छन् ।

उनको नेतृत्वमा नेपालले हालसम्म १६ खेल खेलेको छ । जसमा केही आधिकारिक प्रतियोगिता, आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, केही गुपचुप मैत्रीपूर्ण र केही आधिकारिक नभएका खेल छन् । नेपालले खेलेको १६ खेलमध्ये आधा अर्थात नौ खेलमा हार बेहोरेको छ । पाँच खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ । यस्तै ३६ गोल बेहोर्दा १६ गोल गरेको छ ।

यस बीचमा नेपालले कतार फिफा विश्वकप-२०२२ छनोटअन्तर्गत दोस्रो चरणका खेल खेल्यो । यस्तै साफ च्याम्पियनसिपको फाइनलसहित पाँच खेल खेल्दा आठ मैत्रीपूर्ण खेल खेल्यो ।

यस वर्ष एन्फाले राष्ट्रिय टिमको खेलसँग सँगै आफ्नो तालिकामा रहेको ए डिभिजन लिग र बी डिभिजन लिगसमेत आयोजना गर्‍याे । मछिन्द्र फुटबल क्लब लगातार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेर महादेशीय कप खेल्न छनोट भयो । यस्तै ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत गुमाए ।

यता, बी डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाईज युनाइटेड र उपविजेता बन्दै खुमलटार युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत बनाए ।

यस वर्ष पुरुष फुटबलको तुलनामा महिला खेल कम भयो र प्रदर्शनसमेत खस्कियो । महिला टिमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो भने एक एएफसी महिला एसियन कप छनोट खेल्यो । समग्रमा महिला टोलीले चार अन्तर्राष्ट्रिय खेल खेल्यो ।

यस्तै उमेर समूहमा महिला टोलीले यु-१९ र यु-१८ साफ च्याम्पियनसिप खेले । जहाँ युवा टोली सफल हुन सकेनन् । वर्ष २०७८ को अन्त्यमा महिला लिग चलिरहेको छ भने सहिद स्मारक सी डिभिजन लिग हुने तय थियो । तर पुनः एन्फा भित्रको विवादका कारण यो प्रतियोगिता छायाँमा परेको छ र १० दिन पर थकेलिएको छ ।

वर्षको अन्त्यको कुरा गर्दै गर्दा आगामी चुनावले माहोल तातिएको छ । अध्यक्षका प्रत्यासी देखिएका हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच ठूलो रस्साकस्सी चलेको छ ।

यस वर्ष फुटबल टोलीले खेलेको १६ खेल
१. नेपालविरुद्ध इराकः २-६
२. नेपालविरुद्ध चाइनिज ताइपेइ २-०
३. नेपालविरुद्ध जोर्डनः ०-३
४. नेपालविरुद्ध अष्ट्रेलियाः ०-३
५. नेपालविरुद्ध भारतः १-१
६. नेपालविरुद्ध भारतः १-२
७. नेपालविरुद्ध ओमानः २-७
८. नेपालविरुद्ध माल्दिभ्सः १-०
९. नेपालविरुद्ध श्रीलंकाः ३-२
१०. नेपालविरुद्ध भारतः ०-३
११. नेपालविरुद्ध बंगलादेशः १-१
१२. नेपालविरुद्ध भारतः ०-३
१३. नेपालविरुद्ध मौरिससः १-०
१४. नेपालविरुद्ध मौरिससः १-०
१५. नेपालविरुद्ध थाइल्यान्ड ०-२
१६. नेपालविरुद्ध चोनबुरी एफसीः १-३

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);