वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष 

काठमाडौं । वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो ।  खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवादसँगै लगातार प्रतियोगिताले क्रिकेट क्षेत्र प्राय चर्चामा रहिरह्यो । यसै वर्ष नेपालले केही विदेशी भूमिमा त केही घरेलु मैदानमा प्रतियोगितासमेत खेल्यो ।

घर बाहिर भएका प्रतियोगितामा नेपाल आफ्नो लक्ष्य अनुसार सफलता पाउन सकेन । यद्यपि, घरेलु मैदानमा भएका शृंखला भने आफ्नो पक्षमा पार्न सफल भयो । यस वर्ष नेपालले घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय टी-२० शृंखला खेल्यो । दुबै घरेलु दर्शकमाझ आफ्नो पोल्टामा पार्‍याे ।

वर्षको सुरुवातमा नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय शृंखला खेल्यो । यस्तै वर्षको अन्त्यमा भएको नेपाल, मलेसिया र पुपुवा न्युगिनी (पीएनजी) सम्मिलिन टी-२० शृंखला पनि आफ्नै पोल्टामा पार्‍याे ।  यसबाहेक नेपालले टी-२० विश्वकपको ग्लोबल छनोट, आईसीसी विश्वकप क्रिकेट लिग-२, श्रीलंकामा अभ्यास खेल र घरेलु मैदानमा पीएनजीविरुद्ध एकदिवसीय शृंखला खेल्यो ।

यस वर्ष नेपाली क्रिकेट टिमले दुईवटा प्रशिक्षकसमेत पायो । पुस २०७६ मा खुला प्रतिस्पर्धामार्फत आएका डेभ वाटमोरले भदौमा आईसीसी लिग डिभिजन-२ पछि नेपाली टिम छाडे । उनकै नेतृत्वमा नेपालले गत वैशाखमा भएको टी-२० शृंखला जितेको थियो ।

पारिवारिक समस्या देखाउँदै वाटमोरले नेपाल छाडेलगत्तै उनको स्थान लिन पूर्वप्रशिक्षक पुबुदु दासानायके नेपाल आएका छन् । उनी विश्वकप ग्लोबल छनोटमा असफल भए पनि घरेलु मैदानमा यसै महिना भएको त्रिदेशीय टी-२० क्रिकेटको उपाधि भने नेपाललाई जिताउन सफल भए ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा भने नेपाल सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सेमिफाइनलमा ६८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । योसँगै नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न सकेन ।

वर्ष २०७८ खेलाडीका लागि झनै विशेष रह्यो । केही खेलाडीले ठूला उपलब्धीसमेत हात पारे । यस्तै कीर्तिमानको भने चांङ नै लाग्यो । यस वर्ष नेपाली ब्याटरबाट तीन शतक निस्केका छन् । त्यसअघि जम्मा दुई नेपाली ब्याटरले शतक प्रहार गरेका थिए ।

यस वर्ष युवा ब्याटर कुशल भुर्तेलको नाममा पहिलो शतक बन्यो । उनले टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए ।

वैशाखमा भएको टी-२० शृंखलामा प्रशिक्षक वाटमोरले डेब्यु गराए यता कुशलले पाँच अर्धशतक र एक शतकसहित ५७३ रन बनाइसकेका छन् ।

अर्काे शतक बनाउने खेलाडीमा सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी पर्छन् । उनले यस वर्ष एक शतकसहित पाँच अर्धसमत बनाए ।  उनले पीएनजीविरुद्ध भएको दोस्रो खेलमा १०५ रन बनाएका थिए । उनी नेपाली क्रिकेटमा एक हजार रन बनाउने एक्ला खेलाडीसमेत हुन् ।

शतक बनाउने तेस्रो खेलाडी हुन् युवा ब्याटर रोहितकुमार पौडेल । उनले घरेलु मैदानमा पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । उनको नाममा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान छ ।

यता, अलराउण्डर करण केसीले कीर्तिमान राख्दै ह्याट्रिकसहित पाँच विकेट लिए । बलिङमा यस्तो प्रदर्शन गर्ने करण एक्ला नेपाली खेलाडी रहे । पीएनजीविरुद्ध टी-२० क्रिकेटमा ३ दशमलव ४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यी त भए मैदान भित्र खेलाडीले पाएका ठूला उपलब्धी । अब, मैदान बाहिरका कुरा गराैँ। एक समय नेपाली क्रिकेट क्षेत्रमा यस्तो पनि बन्यो, राष्ट्रिय टोलीको प्रशिक्षणमा  खेलाडी उपलब्ध पनि भएनन् । कारण थियो खेलाडी र क्यानबीचको विवाद ।

खेलाडी वर्गीकरणको विषयलाई स्वयं खेलाडीले क्यानमा कुरा उठाउनुको सट्टा मिडियाबाजी गरेको र आचारसंहिता उल्लघंन गरेको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित खेलाडीलाई केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गर्‍याे ।

क्यानको २९ मंसिरमा बसेको बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रलाई पदमुक्त साथै दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सुरुवाती ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय लिएको थियो ।

६ महिना क्यानले कारबाही स्वरुप पारिश्रमिक रोक्का गर्ने र नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई जिम्मेवारी दिएपछि खेलाडी झनै आक्रोसित भए र विवाद झनै सतहमा आएको थियो ।

यसपछि खेलाडी नजिकै रहेको विश्वकप ग्लोबल छनोटको तयारीका लागि होटेल रिपोर्टिङ गर्न समेत आनाकानी गरे । करण केसीलगायत अन्य खेलाडीले बाहिरै रहेर राष्ट्रिय टिमका खेलाडीलाई साथ दिएर अभ्यासमा उपलब्ध भएनन् । यसपछि क्यान नेतृत्वसमेत लचकता अपनाएपछि खेलाडी  खेल्न तयार भएका थिए । यसपछि क्यानले कारबाहीसमेत फिर्ता लिएको थियो ।

यी त भए मैदान बाहिरका कुरा, अब फेरि मैदान भित्रका कुरा । वर्ष २०७८ मा क्रिकेटमा १२ खेलाडीले डेब्यु गरे । जसमा चार खेलाडीले टी–२० र एकदिवसीय (ओडीआई) मा डेब्यु गरे । यस्तै पाँच खेलाडीले टी-२० र तीन खेलाडीले ओडीआईमा डेब्यु गरे ।

कुशल भर्तेल, आसिफ शेख, सागर ढकाल र गुल्शन झा दुबै फर्म्याटमा डेब्यु गरे । यस्तै शाहव आलम, लोकेश बम, विवेक यादव, दिलीप नाथ र आलिद अन्सारीले टी-२० मा डेब्यु गरे ।  विक्रम सोब देव खनाल र भीम सार्कीले भने ओडीआईमा डेब्यु गरेका छन् ।

वर्ष २०७८ लाई सम्झिँदा यो वर्ष क्रिकेटर दीपेन्द्रमय भयो । चाहे त्यो मैदान भित्र या बाहिर होस् । यस्तै यस वर्षलाई भन्दा क्रिकेटमा पुस्ता हस्तान्तरण समेत भयो । १२ खेलाडीले डेब्यु गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, विकेट किपर विनोद भण्डारी, शरद भेषावकरजस्ता अनुभवी खेलाडीको स्थान युवा खेलाडीले लिएका छन् ।

यसबाहेक क्यानले आफ्नो वार्षिक साधारणसभा समेत सफलता पूर्वक सम्पन्न गर्न सक्यो । केही शृंखला आयोजना गर्‍याे । यस्तै  घरेलु महिला लिग, पुरुष टी-२० लिग र यु–१९ महिला लिग सम्पन्न भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);