काठमाडौं ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गर्नुभएको छ । शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्रीको नारा सुन्दर भएपनि काम गराई असंवेदनशील भएको बताउनुभएको हो । वागमती किनारबाट विस्थापित नागरिकको आशुले नेपाल हासिँरहेको देखिन्छ कि रोइरहेको ? उहाँले प्रश्न गर्नुभयो । उहाँले संविधानले परिकल्पना गरेको लोककल्याणकारी र समाजवादउन्मुख राज्यको लक्ष्य हाल सरकारले गरिररहेको व्यवहारसँग मेल नखाने बताउनु भयो । आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हकलाई राज्यले खोस्न नहुने उहाँको भनाई छ । उहाँले विकास मानवकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मानवबिनाको विकासको कुनै अर्थ नहुने उहाँको भनाई छ । सुकुम्वासी क्षेत्रमा रहेका अव्यवस्थित बसोवास हटाउँदा राज्यले देखाएको रवैयाप्रति उहाँले आपत्ति जनाउनु भयो ।
हजारौँ सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउन सक्ने सरकारले एक हप्ता प्रमाण जाँच गरेर समाधान खोज्न किन सकेन ? उहाँको प्रश्न छ । नेता ज्ञावलीले सरकार गठन भएको एक सय दिनसम्म आलोचना नगर्ने परम्परा रहेपनि सरकारको कार्यशैलीका कारण केही विषयमा मौन बस्न नसकिएको बताउनु भयो । उहाँले निरकंशु पञ्चायतसंग खोसेर दिएको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार वर्तमान सरकारले मास्न खोजेको बताउनुभयो । ट्रेड युनियन अधिकार र मिडियामाथि नियन्त्रणका प्रयासहरू भएको उहाँको भनाई छ । उहाँले विद्यार्थी संगठन, ट्रेड युनियनमा भएका खराबीलाई सच्याउन सकिने बताउनुभयो । उहाँले वर्तमान सरकारको कार्यशैलीले निर्वाचित सर्वसत्तावादतिर जाँदैछौँ कि भन्ने संकेत देखिन थालेको बताउनु भयो । उहाँले सरकारलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो । ज्ञावलीले अध्यादेशमार्फत कानून निर्माण प्रक्रिया थालनी गर्ने सरकारको कार्यशैली प्रति पनि असन्तुष्टी जनाउनु भयो । संसद बोलाएर फेरि बन्द गरी अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाविपरित भएको उहाँको भनाई छ । उहाँले नियमावलीमार्फत विधेयक पास गर्ने समयसीमा तोकेर छिटो कानुन निर्माण गर्न सकिने बताउनु भयो ।




