म्यान्मारको प्रमुख शहर याङ्गुनमा सञ्चालित सार्वजनिक बस सेवाको भाडा आगामी सेप्टेम्बर १ देखि वृद्धि हुने भएको छ । सवारी साधनका पार्टपूर्जा र मर्मतसम्भारको बढ्दो लागतलाई मध्यनजर गर्दै भाडा बढाउने निर्णय गरिएको सरकारी पत्रिका ‘द ग्लोबल न्यु लाइट अफ म्यान्मार’ ले शनिवार जनाएको छ । याङ्गुन क्षेत्र यातायात सुपरीवेक्षण समितिले शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमार्फत भाडा वृद्धिको औपचारिक घोषणा गरेको हो । नयाँ भाडा दरअनुसार हाल सहरको भित्री भाग (डाउनटाउन) का लागि तोकिएको २०० क्याट भाडा बढेर ३०० क्याट पुग्नेछ । त्यसैगरी, उपनगरीय र बाहिरी क्षेत्रका रुटहरूको साविकको भाडा ४०० क्याटबाट वृद्धि गरी ६०० क्याट कायम गरिएको समाचारमा उल्लेख छ ।सवारी साधनका पार्टपूर्जाको मूल्यवृद्धि र मर्मत खर्चमा भएको बढोत्तरीका कारण यातायात व्यवसायीहरूको आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न भाडा समायोजन अनिवार्य भएको हो । यसैबीच, समितिले बढ्दो यात्रुको चापलाई सम्बोधन गर्न र सवारी जाम न्युनिकरणका लागि सञ्चालनमा रहेका बसहरूको संख्या थप गर्ने कार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता व्यक्त गरेको छ ।




