काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिनुभएको छ । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गर्नुभएको हो । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्नुभयो । उहाँले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाउनु भयो । आफू लगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोशिस भइरहेको उहाँको भनाइ छ ।
सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित विभिन्न क्षेत्रमाथि अंकुश लगाउन खोजेको टिप्पणी उहाँको छ ।सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै उहाँले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सरकारले गरिरहेका ‘उपद्रव’ बाट आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।





