बुटवल,२८ माघ । वाम गठबन्धनले सरकार गठनको तयारी थालेको छ । सम्भवत आइतबार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गरिनेछ । ‘सम्भव भए आइतबार नभए सोमबारसम्म मन्त्रिपरिषद् गठन गर्ने तयारी छ,’ एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘सुरुमा तीन सदस्यीय सरकार गठन हुन्छ ।’
सरकार गठनको तयारीका लागि शुक्रबारदेखि एमाले प्रदेश इन्चार्ज विष्णु पौडेल र संसदीय दलका नेता पोखरेललगायत छलफलमा जुटेका थिए । उनीहरूले मन्त्रिपरिषद्मा लाने सदस्यको नाम टुंगाएका छन् । माओवादीसित औपचारिक छलफल नहुँदासम्म नाम सार्वजनिक नगर्ने प्रदेश संयोजक तथा एमाले उपमहासचिव पौडेलले बताए । ‘भूगोल, समुदाय र अनुभव तीनै चिजको सम्मिश्रणमा सरकार गठन हुनेछ,’ उनले भने, ‘सबैको सहमतिमा नमुना सरकार बनाउने प्रयासमा छौं ।’
दुई दलबीचको औपचारिक छलफल र निर्णयका लागि माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुन र नेता टोपबहादुर रायमाझी आइतबार बिहानै बुटवल आउँदैछन् । अर्का नेता चन्द्रप्रकाश खनाल बुटवलमै छन् । एमालेको तयारीसँगै माओवादी केन्द्रले पनि आइतबारको बैठकबाट संसदीय दलको नेतामा कुलप्रसाद केसीलाई चयन गर्ने औपचारिक निर्णय गर्दैछ ।
पहिलो चरणमा मुख्यमन्त्रीसँगै एमालेबाट नवलपरासीका बैजनाथ चौधरी सरकारमा जाने टुंगो जस्तै छ । माओवादीबाट रुकुमका पूर्णबहादुर घर्ती मन्त्रीमा र सभामुखमा गुल्मीका सुदर्शन बराललाई पठाउने तयारी भइरहेको एकनेताले बताए । माओवादी पोलिटब्युरो सदस्य दधिराम न्यौपानले भने केन्द्रीय नेताहरूबीच भएको सहमति आफूहरूसम्म नआएको बताए । ‘एमाले नेताले सुरुमा मुख्यमन्त्रीको नियुक्ति टुंग्याएपछि मन्त्रीका बारेमा छलफल गरौं भन्नु भएको छ,’ उनले भने, ‘सम्भवत त्यतिबेलासम्म हाम्रो पनि टुंगो हुन्छ ।’
माओवादीको संसदीय दलको नेताका लागि सिफारिस भएका केसी आफै पनि आकांक्षी देखिएपछि मन्त्रीको नाम टुंगो लगाउनसकस परेको छ । माओवादीमा दधिराम न्यौपाने, दामा शर्मा, कृष्ण केसी पनि आकांक्षी छन् ।
एमालेमा पनि मन्त्रीका आकांक्षी धेरै छन् । कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमलराज श्रेष्ठ, रूपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र रुकुमकी आशा स्वर्णकार मन्त्रीको आकांक्षी हुन् । एमाले बढीमा ९ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा छ । सहयात्री माओवादीले ११ सम्म बनाउन प्रस्ताव गरेको छ । स्रोतका अनुसार माओवादीसँगको छलफलमा एमाले नेता पौडेलले ७० \३० कै अवधारणामा मन्त्रालय बाँडफाँटको प्रस्ताव गरेका छन् । तर माओवादीले सुरुमै ९ सदस्यीय मन्त्रिमण्डल बनाएर आफूले ४ मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।
सरकार गठनका लागि परामर्श
एमालेले शनिबार मुख्यमन्त्रीको नियुक्ति र सरकार गठनका विषयमा प्रदेश प्रमुख उमाकान्त झासँग परामर्श गरेको छ । परामर्शमा एमाले नेता पौडेल र संसदीय दलका नेता पोखरेल सहभागी थिए । मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम डिभिजन सडक कार्यालय परिसरको खुला चौरमा गर्ने तयारी छ । परामर्शपछि प्रदेश प्रमुख झासहितको टोलीले शपथग्रहण स्थल तय गर्दै त्यसका लागि तारबार र बलियो सुरक्षा प्रबन्ध गर्न प्रदेश सचिवलाई आग्रह गरेको छ ।
प्रदेश संसदीय दलको विधान तयारसंसदीय दलको कार्यप्रणालीलाई अनुशासित, व्यवस्थित र प्रभावकारी बनाउन दलहरूले संसदीय दलको विधान तयार गर्दैछन् । एमालेले विधान तयार गरिसकेको छ । माओवादीले विधान तयार गर्न पोलिटब्युरो सदस्य सुदर्शन बराललाई जिम्मा दिएको छ । विधान सम्भवत आइतबारको बैठकलेपारित गरेपछि त्यसकै आधारमा माओवादीले संसदीय दलको नेता चयन गर्नेछ ।
कांग्रेसको भने शुक्रबार नै विधान पारित गरिसकेको छ ।
चुनिए चुमान
पोखरा (कास) माओवादी केन्द्रले प्रदेश ४ मा संसदीय दलको नेता र सभामुखको टुंगो लगाएको छ । संसदीय दलको शनिबार साँझको बैठकले दलको नेतामा तनहुँका हरिबहादुर चुमानलाई चयन गरेको हो । नेत्रनाथ अधिकारीलाई भने प्रदेश ४ को सभामुखमा पठाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका चुमान तनहुँको क्षेत्र १ को प्रदेशसभा ‘ख’ बाट र पोलिटब्युरो सदस्य अधिकारी पर्वतको प्रदेशसभा ‘क’ बाट निर्वाचित सांसद हुन् । बैठकले संसदीय दलको उपनेतामा कास्कीका रामजीप्रसाद बराल, प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा बागलुङबाट निर्वाचित चन्द्रबहादुर बुढालाई चयन गरेको छ ।
सबै पदाधिकारी बैठकबाट निर्विरोध चयन भएका हुन् । ‘सबै कुरा सहमतिमै टुंग्याइयो,’ चुमानले भने । प्रदेशसभाका ५९ सदस्यमध्ये माओवादीका १२ जना छन् । प्रदेशसभाको फागुन ३ गते हुने बैठकमा सभामुखको निर्वाचन हुनेछ । आजको कान्तिपुरमा खवर छ ।




