काठमाडाैं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका आलमको आज बिहान साढे २ बजे निधन भएको मेडिकल कलेज केएमसी अस्पताल स्रोतले जानकारी दिएको छ ।
उहाँको २ सातादेखि काठमाडौं मेडिकल कलेज केएमसीकाे आइसीयुमा उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार आलको मिर्गौला फेल भएपछि निरन्तर डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि ब्रेन स्ट्रोक भएका आलमको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि भारतमा पनि उपचार भयो । चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्घकालीन असरका कारण आलमको मृत्यु भएको हो ।
संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै सुनाएको जन्मकैदको फैसला उच्च अदालतले उल्टाएपछि थुनामुक्त भए लगत्तै आलमलाई ब्रेन स्ट्रोक भएको थियो ।





