नामिबियासँग नेपालको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नामिबियासँग नेपालको रोमाञ्चक जित

काठमाडौं, २६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–दुई अन्तर्गत पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ ।

नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्न बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा बसन्त रेग्मीले २४ बलमा अविजित २४ रन जोडे । वसन्तले ४९ औं ओभरमा एक छक्का र ५० औं ओभरमा एक चौका प्रहार गरेर नेपाललाई विजयी शुरुवात दिलाएका हुन् ।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको बेला उनले पहिलो बलमा ४ रन र दोस्रो बलमा २ रन जोडेकामा नामिबियाले तेस्रो बल वाइड फोलेपछि खेल नेपालले जितेको हो । नेपालको इनिङमा शरद भेषावकरले २९, कप्तान पारस खड्काले १९, उपकप्तान ज्ञानेन्द्र मल्लले १५ र सोमपाल कामीले १३ को योगदान गरे ।

त्यसअघि डब्लुएपी मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४ दशमलव २ ओभरमा १ सय ३८ रनमा समेटेको थियो । नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ८ दशमलव २ ओभरमा १८ रन दिइ ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट हात पारे । नेपालले आज डब्लुएपी मैदानमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान विहिबारको खेलमा क्यानाडासँग पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);