काठमाडाैं । जेनजी आन्दोलनका क्रममा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगजनी भएको भन्दै निजी क्षेत्रले आगामी दिनमा आक्रमण नहुने वातावरण बनाउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज एक विज्ञप्ती जारी गर्दै महासंघले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको भन्दै व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भत्र्सना गरेको हो ।
महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । महासंघका अनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन महासंघले गरेको छ ।
महासंघले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको बताएको छ । लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघले सबैमा आग्रह समेत गरेको छ ।
यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्दोष नागरिकको ज्यान जाने कुनैपनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गरेको छ ।
सीएनआईले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसात्मक गतिविधिबाट भविष्यको बाटो खोज्ने प्रयास राष्ट्रकै लागि ठूलो क्षति हुने टिप्पणी गरेको छ ।
परिसंघले संयमता अपनाउन सबै सरोकारवालालाई अपिल गर्दै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, लोकतान्त्रिक अभिव्यक्ति सुरक्षित राख्नुपर्ने र कानुन, व्यवस्था तथा मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलमा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । हालैका जेन्जी आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिनको आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि आक्रमण भएको थिए । मीनबहादुर गुरुङले सञ्चालन गरेका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरिँदा अन्य आधा दर्जन शाखामा समेत क्षति पुगेको थियो । हालैको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीबाट ठूलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने संकल्प समेत गरेको छ ।
भाटभटेनीले सरसफाइ र पुनर्निर्माणमा सहयोग गर्ने हजारौँ सहयोगी हातहरूको प्रशंसा पनि गरेको छ ।
क्षति ठूलो भए पनि आफ्नो प्रतिबद्धता झनै बलियो भएको कम्पनीले स्पष्ट पारेको छ ।
जेन्जी आन्दोलनका क्रममा चन्द्र ढकालको नेतृत्वमा बनेको चन्द्रागिरी हिल्स र मौलाकाली केबलकारको बटम स्टेशन तोडफोडपछि जलाइएको थियो ।
शंकर ग्रुपद्वारा निर्माण गरिएको नक्सालस्थित पाँचतारे हिल्टन होटलमा आगजनीपछि ठूलो क्षति भएको छ भने एनसेलको लैनचौरस्थित मुख्यालयमा समेत आगो लगाइएको थियो । उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरी चार वटा गाडी जलाइयो भने सञ्जय गोल्छाको निवास समेत पूर्णरूपमा ध्वस्त पारिएको थियो ।
बसन्त चौधरीको ठमेलस्थित घरमा क्षति पुगेको छ भने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको आवासमा पनि लुटपाट र आगजनी भएको थियो । थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरुमलगायत जलाइएको थियो ।





