फागुन १५ बिहिबार ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पटकपटक स्पष्टीकरण सोधेर हैरानी पार्न खोजिएको भन्दै पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको स्पष्टीकरण दिनुभएको छ ।
मन्त्रालयले पदबाट किन नहटाउने भन्दै गएको मङ्गलवार सोधेको २४ घण्टे स्पष्टीकरणमा जवाफ दिँदै घिसिङले विद्युत् प्राधिकरण ऐनअनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको तर्क गर्नुभएको हो । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।
उनले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन भन्दै प्रश्नसमेत गर्नुभएको छ । स्पष्टीकरण पत्रमा यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोत साधन र समयको अवमूल्यन भइरहेको जिकिर छ ।
आफूमाथि लगाइएका सबै आरोप मनोगत भएको भन्दै आफ्नो नियुक्तिपछिको प्रगतिको सबै सूचांकले सबै प्रगति उजागर गर्ने बताएका छन् ।




