देउवामाथि दाग पखाल्ने ठाउँ थियो, तर, फेरि लाग्यो अर्को दाग | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

देउवामाथि दाग पखाल्ने ठाउँ थियो, तर, फेरि लाग्यो अर्को दाग

तीन तहको निर्वाचन गर्ने जिम्मेवारीसहित चौंथोपटक प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इनिङको सुरुवात नै झुर देखिएको छ । असार १४ गतेका लागि तय गरिएको २ नम्बर प्रदेशको निर्वाचन असोज २ मा सारेर देउवाले झुर सुरुवात गर्नुभएको हो । खराब सुरुवात गरेका देउवाले शतक प्रहार गर्नेमा आशंका उब्जिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा नयाँ प्रयोग होइनन् । यसअघि तीन पटक सत्ताको नेतृत्व गरिसकेका देउवाबाट आम जनताले नयाँ अपेक्षा गरेका छैनन् । तर देउवा आफैंमाथि भने चौंथोपटक पाएको प्रधानमन्त्रीको पद् विगतमा लागेको दाग पखाल्ने अवसर हो । दाग पखाल्न कति खरोरुपमा उत्रिन्छन् भन्नेमा सबैका नजिर देउवातिर गइरहेका बेला उनले भने पहिलो गासमै ढुंगा लागेको उखान चरितार्थ हुने निर्णय गरेका छन् । जिम्मेवारी सम्हालेको १० औं दिनमा देउवाले ८ सदस्यीय मन्त्रीपरिषद्को बैठकबाट असार १४ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचन अन्र्तगत २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सारेका छन् । खासगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा चनावी कार्यक्रम विथोल्ने गरी विरोधका कार्यक्रम गरिरहेको अवस्थामा देउवाले राजपा नेपालको इच्छा अनुसार निर्वाचन सारेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारी निर्णयलाई बिखण्डनवादी तत्वको मनोबल बढाउने कदम भनी टिप्पणी गरेको छ । २ नम्बर प्रदेशमा असार १४ गते निर्वाचन नगर्दा राष्ट्रिय एकता कमजोर हुने एमालेको भनाइ छ । दोस्रो पटक प्रधानमन्त्री भएका बेला देउवाले निर्वाचित संसद् विघटन गरी आम निर्वाचन घोषणा गरेका थिए । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई निर्वाचन गर्न नसकेको भन्दै असक्षमको आरोप लगाएर पदमुक्त गरे । आफूमाथि लगाइएको असक्षमको दाग पखाल्ने सुनौलो अवसर सदुपयोग गर्नुपर्नेमा देउवाले यसपटक फेरि असक्षमको आरोप लाग्ने निर्णय लिएका छन् । आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि अब ७ महिना मात्र बाँकि छ । वर्षायामका कारण साउन र भदौ तथा चिसोका कारण पुस र माघमा निर्वाचन सम्भव छैन । समयले निकै च्यापिसकेकाले देउवाले मिनेट मिनेटको सदुपयोग गर्नुपर्ने अवस्था छ । स्थानीय तहमा पठाइएको २ खर्ब २५ अर्ब बजेट खर्च गर्नका लागि जनप्रतिनिधि चयन गर्न तथा कर्मचारी खटाउन ध्यान केन्द्रीत गर्नुपर्ने बेला निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको निर्वाचन सारेर देउवाले शतक प्रहार गर्ने मौका खेर फाल्ने संकेत गरेका छन् ।०००

देउवामाथि दाग पखाल्ने ठाउँ थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);