रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा

काठमाडौं ।

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीबार मकाउस्थित ग्यालेक्सी एरिनामा भएको क्वार्टरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजनलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन्। ढाँटले मूलतः अष्ट्रेलियाका म्याट्टी इयानसँग प्रतिस्पर्धा गर्ने तय भए पनि इयान घाइते भएपछि अन्तिम समयमा अलिन्टोजनलाई प्रतिस्पर्धीका रूपमा राखिएको थियो। त्यसपछि भएको भिडन्तमा नेपाली स्टार ढाँटले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारे। ब्यान्टमवेट विधामा प्रतिस्पर्धा गरिरहेका ढाँट अब सेमिफाइनल जिते यूएफसी करार नजिक पुग्नेछन्।

‘रोड टु यूएफसी’ एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट एमएमए खेलाडीलाई यूएफसीसम्म पुर्‍याउने प्रतियोगिताका रूपमा परिचित छ। २७ वर्षीय ढाँट नेपाली एमएमएको चर्चित नाम हुन्। गत वर्ष भारतको ग्रेटर नोएडामा भएको ‘म्याट्रिक्स फाइट नाइट १७’ मा उनले भारतीय खेलाडी चुनग्रेङ कोरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए। नेपालबाट पहिलोपटक ‘रोड टु यूएफसी’ मा प्रतिस्पर्धा गरेका ढाँटको यो सफलता नेपाली एमएमएका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

Leave a Reply