स्वास्थ्य

बङ्गुरमा लाग्ने’अफ्रिकन स्वाइन फिभर’ रोग बेलैमा नियन्त्रण नगरे के होला !

काठमाडौं,९ फागुन । बङ्गुरमा लाग्ने ’अफ्रिकन स्वाइन फिभर’ रोग बेलैमा नियन्त्रण नगरेमा १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकारले जनाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले बुधबार रोग रोकथामका लागि परामर्श जारी गर्दै यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा तीन लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने जनाएको छ ।

यसबाट १५ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान परिषद्ले गरेको छ । विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गरिएन भने यस रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमित पशुमध्ये ६६ दशमलव ६ प्रतिशत मर्ने अनुमान गरिएको छ ।

तर यो रोगको उपचार, रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक पर्ने महत्त्वपूर्ण जनशक्ति पालिकामा रहेको पशु चिकित्सकहरूको दरबन्दी ६० प्रतिशत रिक्त रहेको र धेरै पालिकाका वडामा पशु स्वास्थ्य प्राविधिकहरूको उपस्थिति न्यून रहेको भन्दै परिषद्ले चिन्ता जनाएको छ ।

संघ,प्रदेश र पालिकाबीचको कमजोर समन्वय र सहकार्यका कारण रोग देखिएको लामो समयपछि थाहा हुने गरेको र सङ्क्रमण तीव्र गतिमा फैलिई एकदमै छिटो महामारीको रूप लिइरहेको परिषद्ले जनाएको छ । यस्ता पशुका महामारी रोक्न तत्काल कानुन निर्माणदेखि भेटेरिनरी सेवाको आमूल पुनर्संरचना गरी अस्पताल र जनशक्ति थपेर सघन रूपले रोग नियन्त्रणमा जुट्न अत्यावश्यक देखिएको परिषद्ले बताएको छ ।

Related Post
Share

This website uses cookies.