मदन बिक
बाजुरा, ७ माघ
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा शिलान्यास गरेको अछामको साँफेबगर र बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्डकोे काम अन्तिम चरणमा पुगेको छ । शिलान्यास भएको २३ वर्षपछि पक्की सडक सदरमुकाम मार्तडीसम्म पुग्न लागेको हो ।
प्रदेश नम्बर ७ को पक्की सडक सञ्जालले नजोडेको जिल्ला हो, बाजुरा । सदरमुकाम मार्तडीसम्म सडक जोड्न २३ वर्षअघि शिलान्यास गरिएको साँफे–मार्तडी सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीय दंग परेका छन् । मार्तडीसम्मको कच्ची सडकमा जोखिमपूर्ण यात्रा गराउँदै आएका बसचालकहरू सडक पक्की हुने भएपछि खुुसी भएका छन् ।
अछामको साँफेबगरदेखि मार्तडीसम्मको ५७ किलोमिटर सडकखण्डमध्ये २९ किलोमिटर सडक पाँच वर्षअघि नै पक्की भएको छ । बार्जुगाढदेखि मार्तडीसम्मको २८ किलोमिटर सडक निर्माणका लागि भारतीय एक्जिम बैंकको ६८ करोडको ऋण सहयोगमा ०७४ असारभित्र काम पूरा गर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो । २०७१ जेठमा निर्माणको जिम्मा पाएको पियस कन्स्ट्रक्सनले बार्जुगाढदेखि मार्तडीसम्मको सडक म्याद थपेर २०७५ जेठभित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ ।




