अछाम साँफेबगर बाजुरा सडक खण्ड महिनौेदेखि अवरुद्ध, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अछाम साँफेबगर बाजुरा सडक खण्ड महिनौेदेखि अवरुद्ध,

बाजुरा,२० साउन । अछामको साँफे बगरदेखि बाजुरा सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक एक महिना देखि अवरुद्ध छ । साँफे–मार्तडी सडकखण्ड अन्तरर्गतको बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौ ठाउँमा पहिरो गएपछि अहिले सडकको अवस्था बेहाल भएको हो ।

बाजुरा सदरमुकाम मार्तडीसम्म जोडिएको पक्कीे सडक पहिरोका कारण तहस नहस भएको छ । सडकको बीचमा पर्ने पक्की पुलहरु समेत बाढीले बगाएको छ । सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरोले सदरमुकाम मार्तडीसम्मको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

साँफे मार्तडी सडकखण्ड नजिकै बग्ने बूढीगंगा नदीले सडक नै कटान गरेको छ । सडक कालोपत्रेको काम सकिएको दुई वर्ष पनि पुगेको छैन । कालोपत्रे गरेकै वर्ष पनि पहिरोका कारण वर्षातमा सडक अवरुद्ध बनेको थियो ।

दुई वर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने क्रम चलिनै रहेको छ । जसका कारण सदरमुकाम मार्तडीसम्म आउजाउ गर्ने स्थानीयलाई वर्षातमा हरेक वर्ष समस्या हुने गरेको छ । यो वर्ष पनि असार दोस्रो साताबाटै पहिरो जान थालेपछि सडक अवरुद्ध भएको हो । ताप्रीसेराबाट अमकोटद्वारी क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको छ।

सडक माथिबाट ठूला–ठूला पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको छ । त्रिवेणी नगरपालिका क्षेत्रको पहिरो र बूढीगङ्गा नदीको कटानले सडक उच्च जोखिममा परेकोले वर्षा नरोकिएसम्म सडक मर्मत गर्न नसकिने साँफे–मार्तडी सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

यता बडिमालिका नगरपालिका क्षेत्रमा पर्ने पानीनाउलामा पनि सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक सञ्जाल विच्छेद हुँदा व्यापारीले खच्चर र मान्छेबाट महङ्गो भाडा तिरेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ ।

यातायात सञ्चालन हुन नसक्दा गर्भवती महिला तथा बिरामीहरुको स्वास्थ्य संस्था पुग्न नसकेरै ज्यान समेत जाने गरेको छ । तर यसरी जीवन बिताउनुपर्ने बाध्यता बाजुराबासीकालागि नयाँ भने होइन । भगवान् भरोसामा बाँच्नु यहाँका जनताको वर्षौदेखिको बाध्यता हो । तर राज्यका जिम्मेवारहरु सडक खुलाउन अझै पहल नगर्दा स्थानीयले समस्या भोग्न परेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);