काठमाडौं, १० मंसिर । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिलाई तहसनहस बनाएको आरोप लगाएका छन् । देशलाई बिगार्ने नेताहरुलाई जनताले नरुचाएको पनि उनको दाबी छ ।
माउन्टेज टेलिभिजनबाट प्रसारण भएको चर्चित कार्यक्रम ‘माउन्टेन सम्बाद’मा पत्रकारसँग कुरा गर्दै विश्लेषक रायमाझीले यस्तो बताएका हुन् । उनले भने–“ओलीले धर्मप्रसाद ढकाललाई हत्या गर्नुभो,१४ वर्ष जेल बस्नुभयो, झापा आन्दोलनबाट राजनीति सुरु गर्नुभो,देशको राजनीतिलाई तहसनहस बनाउनु भएको छ ।” उनले अध्यक्ष ओलीलाई जनताले नरुचाएको पनि दाबी गरे ।
जनतामाझ लोकप्रिय भए ओली सुरक्षाकर्मी बिना नै हिड्नुपर्ने उनको भनाइ थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाली जनताको आवाज बोकेर प्रतिनिधित्व गर्न खोजिरहेको उनले बताए । लघुवित्त पीडितहरुको आवाज कसैले नसुने पछि ती पीडितहरुले दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गरेको बताए ।
पुर्वराजासँग भेट्न जनता आतुर रहेको बताउँदै रायमाझीले भने,“उ जहाँ जाँदा पनि फुल बर्सन्छ, उसलाई भेट्न नेपाली जनता लालायित छन्,तर उनी नै अलोकप्रिय हुन्छन् ।” धर्म निरपेक्षता,संघियता, आयातित गणतन्त्र नेपाली जनताले नरुचाएको पनि उनले तर्क गरे । राष्ट्र र राष्ट्रियता बेच्नेहरुको बोलवाला बढेको संकेत गर्दै उनले देशभक्तहरुलाई मुर्खको संज्ञा दिइरहेको भन्दै आपत्ति जनाए ।
देश उर्बर बनाउनुपर्छ भन्नेहरु मुर्ख भइरहेको उनको दाबी छ । नेपाल शाहवंशले नै निर्माण गरेको स्मरण गराउँदै उनले भने,“यो देश जसले बनायो जसले जग हाल्यो त्यसका सन्तती र त्यसका वंशजलाई माया नहुने अरुलाई देशको माया हुने कुरै हुँदैन् ।”




