इजरायली वायुसेनाले गाजा सहरस्थित हमासद्वारा सञ्चालित प्रहरी मुख्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा एक महिलासहित कम्तीमा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी प्रहरीले जारी गरेको संक्षिप्त विज्ञप्तिअनुसार इजरायली विमानले नगरपालिकाको प्रहरी मुख्यालयलाई निशाना बनाउँदा मानवीय क्षति भएको हो । चिकित्सा स्रोतका अनुसार आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि गाजा सहरका अस्पतालहरूमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीकाअनुसार प्रहरी मुख्यालय आसपास विस्थापित प्यालेस्टाइनीहरू बसोवास गर्ने पालहरू रहेका थिए । ठूलो विष्फोटका कारण त्यस क्षेत्रमा छर्राहरू फैलिँदा जनजीवन त्रसित बनेको छ । स्थानीय बासिन्दाहरूले लगातारको आक्रमणका कारण आफूहरू सुरक्षित स्थानको अभावमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् ।
यस घटनाको प्रतिक्रिया दिँदै हमास नेतृत्वको आन्तरिक सुरक्षा निकायले इजरायली सेनाले नागरिक प्रहरी बलमाथि ’निर्मम नरसंहार’ गरेको आरोप लगाएको छ ।
अर्कोतर्फ, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो गाजाको नुसेइरात र तुफाह क्षेत्रमा दुईवटा हवाई आक्रमण गरिएको पुष्टि गरेको छ । इजरायलका अनुसार उक्त आक्रमण हमासका दुई कमाण्डरहरूलाई लक्षित गरी गरिएको थियो । यो आक्रमण गाजा युद्धविरामका लागि नयाँ कूटनीतिक प्रयासहरू भइरहेकै समयमा भएको हो । हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी प्रतिनिधिहरूसँगको भेटमा गाजाको निशस्त्रीकरण, पूर्वाधार विकास र जनस्वास्थ्यका समस्या समाधान गर्न दुईवटा कार्यदल गठन गर्ने सहमति गर्नुभएको थियो ।
यद्यपि, प्रधानमन्त्री नेतन्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायल पछि नहट्ने अडान राख्दै अमेरिका समर्थित १५ बुँदे मार्गचित्र अस्वीकार गर्नुभएको छ । हमासले भने वार्ताका लागि इजरायली सेनाको पूर्ण फिर्ती र स्थायी युद्धविरामलाई मुख्य शर्तका रूपमा अघि सारेको छ ।
गाजा शहरको प्रहरी मुख्यालयमा इजरायली हवाई आक्रमण, ९ जनाको मृत्यु
ताजा समाचार
नौ संसदीय समितिको बैठक बस्दै
१ घन्टा अघि





