उत्तरी गाजामा इजरायली हवाई आक्रमणः पाँच प्यालेस्टिनी प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

उत्तरी गाजामा इजरायली हवाई आक्रमणः पाँच प्यालेस्टिनी प्रहरीको मृत्यु

काठमाडौँ ।

उत्तरी गाजा पट्टीस्थित एक प्रहरी चौकीमा शनिबार इजरायली सेनाले गरेको बमबारीमा परी पाँच प्यालेस्टिनी प्रहरीको मृत्यु भएको छ । गाजाको प्रहरी महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो । प्रत्यक्षदर्शी र स्थानीय स्रोतहरूका अनुसार गाजा शहरको उत्तरपश्चिममा पर्ने अल–तुआम क्षेत्रमा इजरायली ड्रोनले दुईवटा मिसाइल प्रहार गरेका थिए । सो आक्रमणका कारण ठूलो विष्फोट हुनुका साथै भवनको केही भागमा आगलागी र क्षति पुगेको छ । प्यालेस्टिनी स्वास्थ्य स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई दिएको जानकारी अनुसार उद्धार टोलीले घटनास्थलबाट पाँचवटा शव निकालेको छ । आक्रमणमा ६ जनाभन्दा बढी घाइते भएका र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यस घटनाका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । सन् २०२५ अक्टोबरमा भएको युद्धविराम सम्झौताका बाबजुद गाजा क्षेत्रमा सैन्य तनाव र हिंसात्मक गतिविधि जारी छ । इजरायली सेनाले हमाससँग सम्बन्धित ठेगानाहरूलाई लक्षित गर्दै हवाई आक्रमणलाई निरन्तरता दिइरहेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो ४८ घण्टामा मात्रै विभिन्न अस्पतालहरूमा ८ जनाको शव र २९ जना घाइतेहरू ल्याइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा ८ सय ९० जनाको मृत्यु भइसकेको छ भने २ हजार ६ सय ७७ जना घाइते भएका छन् । यससँगै सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा गाजामा कुल मृतकको संख्या ७२ हजार ७ सय ८३ पुगेको छ भने घाइते हुनेहरूको संख्या १ लाख ७२ हजार ७ सय ७९ पुगेको छ ।

Leave a Reply