अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानविरुद्ध ‘भीषण आर्थिक युद्ध’ को घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानविरुद्ध ‘भीषण आर्थिक युद्ध’ को घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गर्नुभएको छ । बुधवार एक वक्तव्य जारी गर्दै ट्रम्पले इरानले सम्झौताका लागि दिइएको अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै यस्तो कदम चालेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले यस अभियानलाई अभूतपूर्वस्तरको आर्थिक युद्ध र एक्लोपनको संज्ञा दिनुभयो । उहाँले इरानको वर्तमान अवस्थाको चित्रण गर्दै भन्नुभयो, ‘इरानको नौसेना समाप्त भएको छ, वायुसेना ध्वस्त भएको छ, सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएका छन् र उनीहरूको मुद्रा मूल्यहीन बनेको छ ।’ उहाँले इरान अहिले अत्यन्तै नाजुक अवस्थामा रहेको दाबी समेत गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले इरानलाई सहयोग पु¥याउने अन्य मुलुक वा निकायहरूलाई समेत कडा चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनैपनि देश जसले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायहरूमार्फत इरानलाई कुनैपनि किसिमको सहयोग उपलब्ध गराउँछन्, उनीहरूले स्वयं गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेछ ।’
यस अभियानलाई इकोनोमिक डी–डे’ (आर्थिक महासंग्राम) को संज्ञा दिँदै ट्रम्पले इरानी खतरालाई परास्त गर्न र उसलाई विश्व समुदायबाट अलग्याउन आफ्ना सहयोगी राष्ट्रहरूलाई अमेरिकासँग उभिन आग्रह गर्नुभएको छ ।
अमेरिका र इरानबीच रणनीतिक महत्त्वको ‘होर्मुज जलडमरू’ र द्वन्द्व अन्त्यका शर्तहरूका विषयमा लामो समयदेखि विवाद जारी छ । समझदारी पत्र अन्तर्गत तोकिएको ६० दिनको वार्ता अवधि गत सोमवार समाप्त भएपछि दुई देशबीचको संवादको भविष्य अन्योलमा परेको छ । वार्ता निष्कर्षविहीन बनेसँगै ट्रम्पको यो आक्रामक रणनीति सार्वजनिक भएको हो ।

Leave a Reply