२६ बैशाख, काठमाण्डौं ।
संघीय गठबन्धनले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ । गठबन्धनका नेताहरुले मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर स्थानीय तहको पहिलो चरणको निर्वाचन लगत्तै संविधान संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् । गठबन्धनले दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन नभए निर्वाचनमा सहभागि नहुने चेतावनी दिएको छ ।
गठबन्धनले संविधान संशोधन हुने आशमा नै आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको र पहिलो चरणको निर्वाचन हुने वातावरण बनेको भन्दै संशोधनको मागलाई बेवास्ता नगर्न आग्रह गरेको छ । जवाफमा सत्तारुढ दलका नेताहरुले पहिलो चरणको निर्वाचनपछि संशोधनको विषय अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि संविधन संशोधनका विषयमा लचक देखिएको छ । बैठक पछि नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीमा छलफल गरेर साझा धारणा बनाएर अघि बढ्न सकिने बताउनुभयो ।
संघीय गठवन्धनले संविधान संशोधनको विषयलाई लिएर आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले मंगलबार विहान प्रमुख तीन दलसहित गठबन्धनको बैठक बोलाउनु भएको थियो ।