‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताउनु भयो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताउनु भयो । अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताउनु भयो । उहाँले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राख्नुभयो । उहाँले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताउनु भयो । उपत्यकाको फोहोर स्थायी रुपमा समाधान गर्ने उपायको खोजि हुनुपर्ने बताउनु भयो ।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताउनु भयो । फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिनुभयो ।

सुवालले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल भयो । काठमाडौं उपत्यकामा ७७ वटै जिल्लामा बस्ने र फोहोर त टनाटन हुने भयो । त्यसैले सरकारको पनि संलग्नता चाहियो । देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । बसाईंसराई बढिरहेको छ । बसाईंसराईलाई निरुत्साहित गर्नुपर्छ । फोहोर सरुवा रोगसँग सम्बन्धित छ । फोहोरमैलाको बन्दोबस्तो गर्नुपर्छ ।’

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताउनु भयो । आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको बताउनु भयो ।

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);