बहुमत पुर्याउन सत्ता गठबन्धनलाई सकस–कोसी प्रदेश मध्यावधिको खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बहुमत पुर्याउन सत्ता गठबन्धनलाई सकस–कोसी प्रदेश मध्यावधिको खतरा

काठमाडौं, १९ असार । नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ । नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको हो ।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पु¥याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ । सत्ता गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आए पनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले बताउनुभयो । मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने गौतमले बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सभामुख गौतमले प्रदेशलाई मध्यावधिमा कुनै हालतमा जान नदिने भन्दै पहिलो चरणमा राप्रपासमेतलाई समेटेर गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेको बताउनुभयो । ‘कुनै अवस्थामा पनि मध्यावधिमा जान नदिने पक्षमा छु’, सभामुख गौतमले भन्नुभयो– ‘मध्यावधि हामीलाई स्वीकार्य छैन । त्यसका लागि पहिलो राप्रपासमेतलाई समेटेर यही गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेका छौं । दोस्रो सर्वदलीय साझा सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ । त्यो पनि भएन भने ठूलो दलको हैसियतले सरकार बनाउने अभ्यासमा समेत जानुपर्ने हुन सक्छ । यी सबै विकल्प अपनाएर पनि प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने प्रयास मेरो तर्फबाट हुन्छ ।’

गठबन्धनको तर्फबाट कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सभामुख गौतमले बताउनुभयो । यद्यपि, मध्यावधिको खतरा भने बाँकी नै रहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसका सांसद केदारबाबु कार्कीले आगामी सरकार गठनका सन्दर्भमा गठबन्धन र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल भइरहेको बताउनुभयो । प्रदेश प्रमुखले दिएको समयभित्र गठबन्धन दलहरूलाई बहुमत जुटाउन समस्या नरहेको दाबी गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी गठबन्धनभित्र र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल गरिरहेका छौं । राप्रपाका नेताहरूले पनि कोसी प्रदेशलाई दुर्घटनाबाट जोगाउन एकदमै संवेनशील रहेको बताउँदै आउनुभएको छ । मलाई विश्वास छ सरकार गठनमा सजिलै बहुमत पुग्छ, पु¥याउनुपर्छ ।’

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले यही २१ गते साँझ ५ बजेसम्ममा अर्को सरकार गठनको आह्वान गर्नुभएको हो । एमाले–राप्रपाको सरकार अल्पमतमा परेसँगै केन्द्रीय सरकारको सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एस, जसपासमेत मिलेर बहुमतको सरकार बनाउने बाटो खुलेको छ । तर, उनीहरूसँग पनि आवश्यक बहुमत नभएपछि राप्रपालाई जसरी पनि मनाउनुपर्ने बाध्यता दलहरूलाई छ । अथवा गठबन्धनको सरकार निर्माणका लागि सभामुखलाई फिर्ता बोलाउनुपर्ने बाध्यात्मक परिस्थिति कोसी प्रदेशमा छ ।

गठबन्धन दलमा कांग्रेस, माओवादी, नेकपा एस र जसपा छन् । उनीहरूमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेर अघि बढेका छन् । तर, संघीय सत्ता गठबन्धनको बैठकले समेत कोसी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले थापालाई मुख्यमन्त्री बनाउन समझदारी गरेका हुन् । कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसले दलको नेता परिवर्तन गरेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनुभयो । कांग्रेसमा अहिले पनि थापा, कार्की र अमृत अर्याल मुख्यमन्त्रीको दौडमा रहेको बुझिएको छ ।

यद्यपि, पार्टीले प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने कांग्रेस कोसी प्रदेश समिति र संसदीय दलले समेत निर्णय गरेको छ । नेपाली कांग्रेसका कोसी प्रदेश महामन्त्री एवं प्रमुख सचेतक भूपेन्द्र राईले कांग्रेसकै नेतृत्वमा कोसी सरकार गठनका लागि पार्टीले निर्णय गरेको बताउनुभयो । सरकार बनाउन आवश्यक बहुमतका लागि राप्रपासँग समेत कांग्रेसले औपचारिक संवाद थालेको राईले जानकारी दिनुभयो । राप्रपा एउटा जिम्मेवार राजनीतिक दल भएकाले विवेकपूर्ण निर्णय गर्छ र गठबन्धनलाई सघाएर जाने वातावरण बन्छ भन्नेमा विश्वस्त रहेको उहाँले दाबी गर्नुभयो । ‘कोसी प्रदेश सरकारका लागि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र बहुमत पु¥याएर पेस गछौं’, राईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सोमबारबाट औपचारिक रूपमा राप्रपासँग संवाद शुरू भएको छ । कांग्रेसले प्रदेश पार्टी सभापति एवं संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा कोसी प्रदेश सरकार बनाउने विषयमा पार्टी र संसदीय दलले समेत निर्णय गरिसकेकाले कांग्रेसकै नेतृत्वमा बहुमतको सरकार गठन हुन्छ । राप्रपा एउटा जिम्मेवार पार्टी भएकाले उसले प्रदेशको हितमा हुने गरी निर्णय लिन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

यसअघि सरकारमा सहभागी दल माओवादी केन्द्रलाई सरकारबाट फिर्ता आउन कांग्रेसले पटकपटक आग्रह गरेको थियो । कांग्रेसकै आग्रहलाई मानेर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए पनि अहिले पहिलो चरणमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा दुई दलबीच मतएकता हुन सकेको छैन । माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा सरकारमा जाने दाबी नछाडेपछि सरकारमा गठनमा सकस हुने निश्चित छ । दलहरूको सचेत नहुने हो भने गत मंसिरमा भएको निर्वाचनको एक वर्ष नपुग्दै कोसी प्रदेश सभा मध्यावधितर्फ जान सक्ने सम्भावना बढेको राजनीतिक वृत्तमा बहस हुन थालेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेती भने कांग्रेसका कारण मध्यावधिमा जाने सम्भावना देखिएको बताउनुहुन्छ । ‘हामीले सरकारबाट छोड्यौँ, अब सभामुखले राजीनामा दिएर मुख्यमन्त्रीलाई भोट हालिदिनुपर्ने भन्ने कांग्रेसको कुरा छ’, उहाँले भन्नुभयो– ‘सभामुखलाई भोट हाल्न कसले बाध्य बनाउन सक्छ ? त्यो सम्भव छैन । एकातिर राप्रपाले कांग्रेस दलका नेता थापालाई मुख्यमन्त्रीमा सहयोग नै नगर्ने भनिरहेको छ । अर्कोतिर ४७ सांसद पुग्दैन । त्यसो हुँदा कांग्रेसले ३० दिनका लागि मुख्यमन्त्री बनाउन खोजेको देखिन्छ ।’

नयाँ सरकार निर्माणको दाबी पेस गर्दा नै राप्रपासमेतको समर्थन लिएर जानुपर्ने उहाँको भनाइ छ । ९३ सदस्य रहेको कोसी प्रदेशमा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् । माओवादीका बाबुराम गौतम सभामुख भएपछि एक मत घटेर सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फ ४६/४६ मत कामय छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);