भाडाकै घरमा स्थानीय सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भाडाकै घरमा स्थानीय सरकार

vada

तेह्रथुम,२६ पुष । तेह्रथुमका ६ मध्ये पाँच स्थानीय तहका कार्यालय भाडामा सञ्चालित छन्। प्रत्येक स्थानीय तहले वार्षिक पाँच लाखभन्दा बढी रकम कार्यालय भवनमै बुझाउनुपर्ने देखिएको छ।म्याङलुङ नगरपालिकाले मात्र आफ्नो भवन निर्माण गरेको छ। लालीगुराँस नगरपालिका, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाले भाडाको घरबाट दैनिक कार्यसम्पादन गरिरहेका छन्। छथर गाउँपालिकाको कार्यालय साविकको कृषि भवनमा सञ्चालित छ।

कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए। ‘स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग छ’, उनले भने, ‘अझै चार(पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमै अलमल हुन्छ।’

उनका अनुसार कुल बजेटको एक प्रतिशत घर भाडामै जाने अवस्था छ। भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाले साँघुरो भवनबाटै कामकारबाही गरिरहेका छन्। उपाध्यक्षसहित प्रशासकीय अधिकृत, अन्य शाखाका कर्मचारी सबैका लागि एउटा मात्रै कोठा छ। अध्यक्षको कोठामै गाउँ कार्यपालिकाको बैठक बस्ने गरेको छ।

आफ्नै भवन नभएकाले भाडाको घरमा साँघुरै भए पनि काम चलाइरहेको फेदाप गाउँपलिका अध्यक्ष हरि चोङबाङले बताए। भने, ‘आफ्नो भवन छैन। निर्माण प्रक्रिया थाल्ने तयारीमा छौं। आफ्नो भवन नबनुन्जेल दुःखै हुने भयो।’ एक वर्षका लागि करिब पाँच लाख खर्चिएर कार्यालय र कर्मचारी आवासको व्यवस्था गरेको उनले जानकारी दिए।

गाउँपालिका र नगरपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरे पनि वडाध्यक्षहरूले बस्ने ठाउँसमेत पाएका छैनन्। साविकका गाविसभन्दा वडाहरूको संख्या धेरै भएकाले दर्जनभन्दा बढी वडा कार्यालयविहीन छन्। गाविस कार्यालय सञ्चालन भएको पुरानो भवनमा दुईदेखि तीनसम्म वडाको कार्यालय राख्नुपर्दा वडाध्यक्षले बस्ने ठाउँसमेत नपाएका हुन्।

भवन अभावमा विद्यालयमा कार्यालय सञ्चालन गर्नुपरेको म्याङलुङ नगरपालिका ५ का वडाध्यक्ष होमबहादुर खड्काले बताए। साँघुरो दुईकोठे भवनमा एक(एक कोठा बाँडेर कार्यालय सञ्चालन गरिरहेको वडा मेन्छ्यायेम ५ का अध्यक्ष शिवनाथ खापुङले बताए। ‘अन्य ठाउँ छैन, यो कोठा पनि बल्लतल्ल मिलेको हो’, अध्यक्ष खापुङले भने।

जिल्लाका धेरैजसो वडामा पहिलो वर्षको बजेट भवन निर्माणमा खर्चिने तयारी छ। जिल्लामा ४३ वटा वडा छन्। गाउँपालिका तथा नगरपालिकालाई भने सरकारले भवन निर्माणका लागि ६ करोड बजेट घोषणा गरेकाले सहज हुने आशा लिएको छथरका अध्यक्ष सन्तवीर लिम्बूले बताए।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);