'सिलौटा बिक्दैन ओढ्ने केले किन्नु ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘सिलौटा बिक्दैन ओढ्ने केले किन्नु ?

बुटवल,२६ पुष । पानीले खियाएर भाँचिएको ढोका कंक्रिटको ब्लक लगाएको भित्तो र टिनको छानो। तिनाउ बगरमा बनेको यही छाप्रोमा बस्छन्, सरोज कुसवाडियाको आठ जनाको परिवार। पुसको चिसो छल्ने ओढ्ने जुटाउनसमेत धौधौ छ कुसवाडिया परिवारलाई। तीन÷तीन छोराछोरी सँगै त्यही छाप्रोमा बसेको सरोजको परिवारलाई पाँच वर्षयताकै कडा जाडो कसरी कटाउने भन्ने चिन्ता छ।

घाम लाग्दा दिनभर सहज भए पनि उनको परिवारलाई रात कटाउन मुस्किल पर्छ। आम्दानीको स्रोत नभएपछि न्यानो कपडा जोड्न सकेका छैनन् सरोजले। ‘सरकारले भत्ता त दिन्छ, त्यो चामल किन्दै सकिन्छ’, उनले भने, ‘अहिले व्यापार छैन जाडो छेक्नै मुस्किल भयो।’

लोपोन्मुख कुसवाडिया जातिको मुख्य पेसा ढुंगाको सिलौटा बनाएर बेच्नु हो। त्यसैले कुसवाडिया पत्थरकट्टाका रूपमा चिनिन्छन्। बुटवलको तिनाउ बगरमा झन्डै १५ घर कुसवाडिया समुदायको छ। यी सबैको पेसा सिलौटा कुद्ने र घरघरमा लगेर बेच्ने हो। पछिल्लो समय जिरा, मसला पिस्ने आधुनिक मेसिन बजारमा आएपछि उनीहरूको व्यवसाय संकटमा परेको छ। ‘मिक्स्चरले हाम्रो व्यापारै डुबायो नत्र खर्च चलेको थियो। अहिले गुजारा चलाउन मुस्किल भयो’, राजकुमार कुसवाडियाले भने।

नजिकै बगरमा पाइने ढुंगासमेत निकाल्न नदिएपछि सिलौटाको पनि लगानी बढेको छ। पाल्पाको झुम्साबाट ढुंगा ल्याई कुदेर सिलौटा लोहोरा बनाउँदै आएका छन् उनीहरू। पहिले घरबाटै दैनिक १५ वटासम्म बिक्ने सिलौटा अहिले गाउँगाउँ डुलाउँदा मुस्किलले ५ वटा पनि बिक्री नहुने उनीहरूको दुखेसो छ। पुरुषले साइकल र महिलाले टाउकोमा राखेर सिलौटा बिक्री गर्न हिँड्ने कुसवाडिया समुदाय सिलौटा बिक्री हुन छाडेपछि चिन्तित छन्। ‘सिलौटा बेचेर चामल, लत्ताकपडा किन्ने हो। सिलौटा नै नबिकेपछि के गर्नु रु छोराछोरीलाई जसोतसो खुवाएर आफू त्यसै सुत्नुपर्छ’, सरोजको भनाइ छ।

सिलौटा बेच्ने पेसा संकटमा परेपछि कुसवाडिया समुदाय मजदुरीमा पनि हिँड्न थालेका छन्। तिनाउ बगरमा बस्ने उनीहरूलाई जाडो र बर्खाले झनै सताउने गर्छ। बर्खामा तिनाउले बगाउने हो कि भन्ने चिन्ता हुन्छ भने जाडोमा ज्यानै जोगाउन मुस्किल पर्छ। चिसोका कारण समुदायका झन्डै १० जना बालबालिका बिरामी पनि परेका छन्।

व्यापार नभए पनि कुसवाडियाले आफ्नो पुख्र्यौली पेसा भने छाडेका छैनन्। ‘बाउबाजेले यही काम गरे। कसरी छाड्नु ’, राजकुमार भन्छन्, ‘अहिले नभएपछि व्यापार होला कि भनेर कुद्न छाडेका छैनौं।’

कुसवाडिया समुदाय तिलोत्तमा, सिद्धार्थनगरका विभिन्न क्षेत्रबाट बसाइँ सरी तिनाउ बगरमा आएका हुन्। गाउँभन्दा सहरमा बढी व्यापार हुने आशामा भित्रिएका उनीहरूको व्यापार आधुनिक मेसिनले संकटमा पारेको हो। ‘धनिजति सबै मिक्स्चर किन्छन्, सिलौटा किन्ने गरिब मात्रै भए’, गुडिया कुसवाडियाले भनिन्। पेसा संकटमा परेपछि केही कुसवाडिया पुरुष रोजगारीका लागि विदेश पनि गएका छन्। कतिपय बस्ती छाडेर नयाँ स्थानमा बसाइँ सरे।

कोही आफ्नै झुपडी त कोही भाडाको झुपडीमा बस्दै आएका कुसवाडिया समुदाय जाडो छेक्ने न्यानो कसैले दिन्छ कि भन्ने आसमा छन्, अहिले। जाडोमा कुसवाडियाका बालबालिका विद्यालय जाँदैनन्। घाम लागे मात्रै विद्यालय जानेमध्ये कतिपयले बीचमै पढाइ छाडेका छन्। कापी, कलम र पोसाक किन्न नसक्नेले बीचमै पढ्न छाडी सिलौटा बेच्न अभिभावकसँगै जाने गरेका छन्।

तिनाउ बगरमा बस्ने कुसवाडियाजस्तै अन्य सुकुम्बासीको पनि समस्या उस्तै छ। टिनको छाप्रोमुनि बस्ने उनीहरूले चिसो सिरेटो छेक्ने घरको भित्तोसमेत बनाउन सकेका छैनन्। ‘कहिले गर्मी आउला भएको छ’, सुकुम्बासी बस्तीका श्यामकला दर्जीले भनिन्, ‘यो जाडो त गरिब मार्न मात्रै आउँदो रै’छ।’ नगरपालिकाले दाउरा दिए राहत मिल्ने उनीहरूको भनाइ छ। यस वर्ष बुटवल उपमहानगरले चिसो भए पनि दाउरा वितरण गरेको छैन।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);