काठमाडौं ।
विश्वशान्तिको कामना गदै वसन्तपुरमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । पछिल्लो समयमा विश्वमा बढिरहेको युद्धलाई रोक्नुपर्ने सन्देशसहित शनिवार सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा इलामका चित्रकार सुवास क्षितिज श्रेष्ठको चित्रकला पदर्शनी गरिएको थियो । साथै उहाँले लाईभ आर्ट पनि गर्नुभएको थियो । विश्व शान्ति र भाईचाराको सन्देश फैलाउनको लागि ६ औँ एकल चित्रकला प्रर्दशनी आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले द्वन्द्वले विश्वव्यापी रुपमा नै मान्छेको जीवनयापन, रोजगारी, सुरक्षा, महंगीले प्रभाव पारिरहेको बताउनु भयो । संकट र त्रास फैलाईरहकोले यसलाई रोकेर विश्व शान्ति कामना गर्नुपर्ने उहाँको भनाई छ । उहाँले शक्ति र स्रोतलाई नकरात्मक भन्दा सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।
प्रदर्शनीमा ललितकलामा अध्ययनरत विद्यार्थी सहभागी थिए । उनीहरुले पनि चित्रकार श्रेष्ठसँगै लाईभ चित्रकला देखाएका थिए । प्रदर्शनीमा सहभागी विद्यार्थी अमूल्य आचार्यले आर्टको माध्यमबाट शान्तिको कामना गरिएको बताउनु भयो ।
पृथ्वी सबैको साझा घर भएकोले यसलाई जोगाउन सबैको उत्तिकै दायित्व हुने प्रदर्शनीमा सहभागीहरुको भनाई छ । बुद्धको भुमीबाट चित्रकलाको माध्यमबाट विश्वशान्तिको कामना गर्न आश्वयक ठानेर प्रदर्शनी गरिएको जनाईएको छ ।





