प्रदेश राजधानीको माग राख्दै भएका आन्दोलन हिंसात्मक बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश राजधानीको माग राख्दै भएका आन्दोलन हिंसात्मक बन्दै

काठमाडाैं, २१ पुस । प्रदेश राजधानीको माग राख्दै देशका विभिन्न जिल्लामा आन्दोलन जारी छ । केही जिल्लामा सुरु भएका आन्दोलन शान्तिपूर्ण र्‍याली, धर्ना र आमसभामा सीमित छन् भने केही जिल्लाका आन्दोलन हिंसात्मक बन्दै गएका छन् ।

प्रदेश राजधानीको माग राख्दै धरान, धनकुटा, इटहरी, कपिलवस्तु, डडेल्धुरा, दिपायल, जुम्लालगायतका स्थानमा आन्दोलन भइरहेका छन् । दिपालयमा डेढ सातादेखि सुरु भएको शान्तिपूर्ण र्‍याली तीन दिनदेखि हिंसात्मक बन्दै गएको छ ।

सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेपछि आक्रोशित बनेका डोटेलीले सहरी विकास भवनमा तोडफोड गरेका छन् भने क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीयले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

शुक्रबार पनि डोटी जिल्लाभर यातायात ठप्प रह्यो । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा प्रदेश राजधानी दिपायल तोक्नुपर्ने मागसहित दिनहुँ जुलुस र आमसभा भइरहेका छन् । बजार तथा सडक क्षेत्रमा दैनिक टायर बालेर नाराबाजी हुने गरेको छ । उनीहरूले शुक्रबार थाल बजाएर र्‍याली निकालेका छन् ।

दिपायलमा राजधानी बन्न नसक्ने अभिव्यक्ति दिएका एमाले नेता भीम रावल र माओवादी नेता लेखराज भट्टको विरोधमा प्रदर्शन भएका छन् । आन्दोलित स्थानीयले दिपायलका क्षेत्रीय कार्यालयहरूमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रालयका कार्यालयको बोर्ड झुन्ड्याएर उद्घाटन गरेका छन् । आन्दोलनले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

डडेल्धुरामा पनि प्रदेश राजधानीको माग राख्दै शुक्रबार स्थानीयले चक्काजाम गरेका छन् । यातायातका साधन ठप्प हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ । स्थानीयले प्रदेश ७ को राजधानी डडेल्धुरालाई बनाउनुको विकल्प नरहेको बताएका छन् ।

उता, प्रदेश ६ को राजधानी कर्णालीमै हुनुपर्ने मागसहित जुम्लामा आम्दोलन सुरु भएको छ । आन्दोलित स्थानीय युवाले कर्णालीबासीले कर्णालीबाहेक अन्यत्र राजधानी तोकिए मान्य नहुने चेतावनी दिएका छन् ।

प्रदेश ५ को राजधानी माग गर्दै कपिलवस्तुमा पनि आन्दोलन सुरु भएको छ । कपिलवस्तुबासीले माग सुनुवाइ नभएको भन्दै बिहीबार दुई घण्टा चक्काजाम गरेका छन् । प्रदेश ५ को राजधानी दाङ तोकिएपछि रुपन्देहीमा पनि आन्दोलन चर्किंदै गएको छ ।

त्यस्तै, प्रदेश १ को राजधानी धनकुटालाई बनाइनुपर्ने भन्दै बिहीबार धनकुटाबासीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धरान उपमहानगरपालिकाले त प्रदेश १ को राजधानी धरान हुनुपर्ने औपचारिक निर्णय नै गरेर प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको छ ।

इटहरीबासीले फरक ढंगले प्रदेश राजधानीको माग गरिरहेका छन् । उनीहरुले काठमाडौं आउने सवारीसाधनलाई माला लगाइदिएको प्रदेश १ को राजधानी इटहरी बनाउनुपर्ने सन्देश पठाइरहेका छन् ।

नेताहरूले चुनावअघि आफ्ना पक्षमा मतादाता आकर्षित गर्न बाँडेका अनेक आश्वासनमध्ये प्रदेश राजधानी पनि हो । आफैंले झोसेको आगो देशभर फैलिँदा समेत नेताहरू मुकदर्शक देखिनु राजनीतिक गद्दारीभन्दा बढी केही हुन सक्दैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);