प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर विभिन्न जिल्लामा आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर विभिन्न जिल्लामा आन्दोलन

काठमाडौं, ४ माघ । प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर जिल्ला–जिल्लामा आन्दोलन चर्किएको छ ।

सरकारले बुधबार सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि धनकुटा, पर्सा, दाङ, डोटीलगायत जिल्लाका बासिन्दाले आफ्नो जिल्लालाई राजधानी तोक्नुपर्ने भन्दै आन्दोलन चर्किएका हुन् । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै धनुकटा तनावग्रस्त बनेको छ ।

बिहानैदेखि धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आन्दोलनकारीले धनकुटाका विभिन्न सरकारी कार्यालय तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चारजना घाइते भएका छन् ।

उता, २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगन्जबासीले आन्दोलन चर्काएका छन् । वीरगन्ज राजधानी संघर्ष समितिले आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरूले बिहानैदेखि वीरगन्जका विभिन्न चोक–चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

त्यस्तै, सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोकेसँगै आन्दोलन संयोजन समितिले डोटीमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ । प्रदेश राजधानीको माग गर्दै आन्दोलन चर्काएका डोटीबासीले सरकारको निर्णयको विरोधमा हिजो बेलुकादेखि नै सडकमा उत्रिएका छन् । आन्दोलनकारीले डोटीमा यातायातका साधन र बजार बन्द गरेका छन् भने यातायातका साधनमा तोडफोड गरेका छन् ।

राजधानी माग गर्दै बुधबारदेखि नै दाङ जिल्ला अनिश्चितकालीन बन्द गरिएको छ । बन्दका कारण दाङका उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था र व्यापार–व्यवसाय पूर्णरूपमा ठप्प छ । पूर्व–पश्चिम राजमार्गको दाङ जिल्ला खण्ड बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);