सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि डोटी, दाङ, पर्सा र धनकुटामा तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि डोटी, दाङ, पर्सा र धनकुटामा तनाव

काठमाडौं, ३ माघ । सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि डोटी, दाङ, पर्सा र धनकुटामा तनाव बढेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीलाई तोकेपछि डोटीको दिपालयका बासिन्दा आक्रोशित भएका हुन् । आक्रोशित स्थानीयबासीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेका छन् ।

डोटीको दिपायलस्थित पिपल्लाबजार तनावग्रस्त भएको छ भने आन्दोलनकारीद्वारा प्रहरीको गाडी नियन्त्रणमा लिएका छन् । डोटीबासीका मागलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेसका स्थानीय नेताहरूले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका छन् ।

सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि आन्दोलन चर्किएको छ । राजधानी माग गर्दै बुधबारदेखि नै दाङ जिल्ला अनिश्चितकालीन बन्द गरिएको छ ।

बन्दका कारण दाङका उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था र व्यापार–व्यवसाय पूर्ण रुपमा ठप्प छ । पूर्व–पश्चिम राजमार्गको दाङ जिल्ला खण्ड बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । जसका कारण पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू बीचबाटोमा अलपत्र परेका छन् ।

सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि पर्साको वीगरन्ज क्षेत्रमा पनि तनाव बढेको छ । सरकारको निर्णयको विरोधमा प्रमुख दलका स्थानीय नेताहरूले वीरगन्जको घण्टाघरमा प्रदर्शन तथा आधा घण्टा चक्काजाम गरेका छन् । आक्रोशित आन्दोलनकारीले केहीबेर गाडीमा समेत तोडफोड गरेका छन् । उनीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रधानमन्त्री देउवाको पुत्लादहनसमेत गरेका छन् ।

त्यस्तै, प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटाबासी थप आन्दोलित भएका छन् । आज दिउँसो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । पर्याप्त भौतिक पूर्वाधार र सरकारी जग्गा रहेको धनकुटालाई अस्थायी प्रादेशिक राजधानी बनाउनुपर्ने माग राख्दै ३३ दिनदेखि धनकुटबासी आन्दोलित छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);