जिल्ला–जिल्लामा प्रदेश राजधानीको माग गर्दै आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जिल्ला–जिल्लामा प्रदेश राजधानीको माग गर्दै आन्दोलन सुरु

प्रदेश नम्बर ७ को राजधानी माग गर्दै डडेल्लधुरामा आमहड्ताल, प्रदेश नम्बर १ को धरानमा रिले अनसन

काठमाडौं, ९ पुष । राजनीतिक दलका नेताहरुले चुनावका बेला मतदातालाई बाँडेको आश्वासनले आन्दोलनको रुप लिँदै गएको छ । भोट माग्न जो, जहाँ पुग्यो तहीँ राजधानी बनाउने आश्वासन बाँडेका नेताहरूका कारण अहिले जिल्ला–जिल्लामा राजधानी माग गर्दै स्थानीय नेताबाटै संघर्ष समिति गठन गर्ने क्रम बढेको छ ।

प्रदेश नम्बर ७ को राजधानी पहाडमा बनाउनुपर्ने माग गर्दै डडेल्धुरामा शनिबारदेखि आमहड्ताल सुरु भएको छ । गत सातादेखि नै संयुक्त संघर्ष समितिले सुरु गरेको विरोधका कार्यक्रमले उग्र रुप लिँदै गएको छ । आमहड्तालका कारण बजार, पसल बन्द छन् भने यातायातका साधन केहीबेर बन्द गर्ने गरिएको छ । पहाडी जिल्ला डडेल्धुरा या दिपायलमा प्रदेश राजधानी हुनुपर्ने माग राख्दै आन्दोलन गरिएको संघर्ष समितिले जनाएको छ ।

 

विभिन्न जिल्लामा प्रदेश राजधानीका लागि लबिङ र संघर्ष समिति गठन भइरहँदा प्रदेश नम्बर १ को राजधानी माग गर्दै धरानबासीले रिले अनसन सुरु गरेका छन् । राजधानी बनाउ अभियान स्वतन्त्र समितिका नाममा रिले अनसन सुरु भएको हो । रिले अनसनमा विभिन्न राजनीतिक दलसम्बद्ध युवालगायतको सहभागिता छ । उता, वाम गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रआबद्ध नेता–कार्यकर्ताले प्रदेश नम्बर ३ को राजधानी नुवाकोट बनाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । दलहरुले व्यक्तिगत स्वार्थ पूर्तिका लागि झोसेको आगो विस्तारै फैलिँदै गएको छ । यो आगो निभाउनतर्फ समयमै ध्यान नदिने हो भने प्रदेश राजधानीको मुद्दाले जटिल रुप नलेला भन्न सकिन्न ।

डडेल्धुराबाट विमल जैरु र नुवाकोटबाट शालिकराम चालिसेको सहयोगमा जिल्ला ब्युरो, काठमाडौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);