प्रदेश राजधानी माग गर्दै अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रदेश राजधानी माग गर्दै अनशन

विराटनगर,१९ पुस । विराटनगरलाई प्रदेश १ को राजधानी घोषणा गर्नुपर्ने माग गर्दै रिले अनशन सुरु भएको छ । मोरङ मुस्लिम समाजको अगुवाइमा विराटनगर गुदरी मोडस्थित मस्जिद अगाडि मंगलबार रिले अनशन सुरु भएको हो । राजनीतिक र ऐतिहासिक महत्वका साथै भौतिक पूर्वाधारको हिसाबले विराटनगर प्रदेश राजधानी बन्न उपयुक्त भएकाले दबाब दिन अनशन सुरु गरेको समाजका प्रवक्ता ओसिम आलमले बताए ।

‘प्रदेश १ को औद्योगिक क्षेत्र, विराट राजाकालीन ऐतिहासिक विरासत, राजनीतिको उद्गम थलो भएकाले पनि विराटनगर नै राजधानी हुनुपर्छ भन्ने हाम्रो माग हो’, प्रवक्ता आलमले भने । विराटनगरलाई राजधानी घोषणा नगरेसम्म अनशन चल्ने उनले बताए ।

पहिलो दिन समाजको अध्यक्षमण्डलका सदस्य ताजिम अहमद, साहब अहमद गुड्डु, सचिवालय सदस्य मोहम्मद नसरुल, सविर अहमद, सास आलम अनशन बसेका छन् । साहबले भने, ‘विराटनगर राजधानी हुँदा सबै जातजाति, धर्म र भेषभूषाको पनि प्रतिनिधित्व हुनेछ।’

अनशन छाडेर काठमाडौं

धरान प्रदेश राजधानी माग्दै १७ दिनअघि थालेको रिले अनशन छाडेर धरानको टोली मंगलबार काठमाडौं हिँडेको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको नेतृत्वमा सर्वदलीय टोली धरानलाई राजधानी घोषणा गर्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौं हिँडेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य अइन्द्रविक्रम बेघाको अगुवाइमा भानु चोकमा अनशन जारी छ । अनशनलाई सरकारले सम्बोधन नगरेका कारण दबाब दिन काठमाडौं जान बाध्य हुनुपरेको बेघाले बताए । टोलीले सुनसरीबाट प्रतिनिधित्व गर्ने उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विकलगायत नेता लिएर प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटी धरानलाई राजधानी बाउन दबाब दिने एमाले धरानका अध्यक्ष नारायण सुवेदीले बताए ।

प्रदेश १ को राजधानीका लागि धरान, धनकुटा र विराटनगरलाई उपयुक्त ठानी प्राविधिक टोलीले सिफारिस गरेको पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले बताए । भौगोलिक तथा वातावरणीय हिसाबले धरानलाई राजधानी बनाउनुपर्ने माग अगाडि सारेको कांग्रेस नेता किशोर राईको भनाइ छ।आजको अन्नपुर्णपोस्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);